काठमाडौँ : सरकारले सवारी चालक अनुमति पत्रको फाराम आइतबारदेखि अनलाइनबाटै थालनी गरेको छ।
यातायात व्यवस्था विभागको बेवसाइट www.dotm.gov.np मा गएर फाराम भर्न सकिन्छ। अनलाइनमा फाराम भरेर पठाएपछि दर्ता नम्बर र कार्यालयमा सम्पर्क राख्न जाने समय अनलाइनबाटै दिइने विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए।
'कार्यालयमा सम्पर्क राख्नका लागि हाललाई एकान्तकुनामै जानुपर्छ, भक्तपुरको सल्लाघारी एवम् काठमाडौँका चाबहिल र कलङ्कीमा पनि सेवा सुरु भएपछि त्यहाँबाट पनि अनलाइनबाटै सवारी चालक अनुमति पत्रसम्बन्धी काम हुन्छ,' उनले भने।
यो सेवा सुरु भएपछि मध्यरातदेखि यातायात सेवा कार्यालयमा अनुमति पत्रको फाराम भर्न लाइनमा बस्नु नपर्ने विभागले जनाएको छ।