काठमाडौं : एक महिनादेखि संसदको कारबाहीमा अवरोध पुर्याउँदै आएको प्रमुख प्रतिपक्षी नेकपा एमाले सहित नौ प्रतिपक्ष दलहरुले थप रणनीति तय गर्न आज परामर्श गर्दैछन्।
एमाले संसदीय दलको कार्यालय सिंहदरबरमा भावी आन्दोलनको स्वरुपबारे परामर्श गर्न लागेको एमाले संसदीय दलका सचेतक गोकुल घर्तीले जानकारी दिए।
प्रतिपक्ष मोर्चामा रहेका नेकपा एमाले, नेकपा माले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, राष्ट्रिय जनमुक्ति पार्टी, बहुजन शक्ति पार्टी, नेपाः राष्ट्रिय पार्टी र मधेस समता पार्टी नेपालले संयुक्त छलफल आयोजना गरेका हुन्। छलफल एमाले संसदीय दलको कार्यालयमा दिनको ३ बजेदेखि सुरु हुनेछ।
सरकारले गत मंसिर १४ मा संविधान संशोधन प्रस्ताव संसद् सचिवालयमा दर्ता गरेपछि प्रतिपक्ष दलहरुले संसद अवरुद्ध गर्दै आएका छन्। प्रतिपक्ष दलहरुको अवरोधका कारण संसद बैठक एक महिनादेखि कार्यसूचीमा प्रवेश गरेको छैन। संशोधन प्रस्ताव फिर्ता नलिएसम्म संसद कार्यसूचीमा प्रवेश गर्न नदिने उनीहरुको अडान छ।
प्रतिपक्ष दलहरुको अवरोधबीच संसद सचिवालयले संविधान संशोधन प्रस्तावलाई कार्यसूचीमा प्रकाशित गरे पनि पेश हुन सकेको छैन। निर्वाचनसँग सम्बन्धित दुई विधेयक पनि अवरोधका कारण संसदमा पेश भएका छैनन्।
यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध विचाराधीन महाभियोग प्रस्तावको जारी छलफल पनि अलपत्र परेको छ।