
काठमाडौं : सामाजिक संस्था एकाउन्टबिलिटी ल्याबको आयोजनामा हरेक वर्ष हुने 'इन्टेग्रिटी आइडल'को तेस्रो संस्करणमा परेका उत्कृष्ट पाँच जनाको लागि भोटिङ सुरु भएको छ।
२०१६ को उत्कृष्ट पाँचमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उपसचिव भीष्मकुमार भुसाल, महिला तथा बालबालिका कार्यालय जुम्लाका महिला विकास निरीक्षक बिन्दु कुवँर, सिद्धबाबा उमावि गुल्मीका प्रधानाध्यापक डोरविक्रम श्रीश, वागेश्वरी उमावि भक्तपुरका प्रधानाध्यापक कृष्णप्रसाद धन्छा र मौनाबुधुक स्वास्थ्यचौकी धनकुटाकी स्वास्थ्य सहायक तारा सुवेदी परेका छन्।
इन्टेग्रिटी आइडलका लागि १५ फेब्रुअरी २०१६ बाट चार महिनाको लागि मनोनयन खुल्ला गरिएको थियो। जसमा देशका ६७ जिल्लाबाट ८३८ मनोनयन प्राप्त भएको थियो। विभिन्न ७ चरणको छनोट प्रक्रियापछि निर्णायक मण्डलले उत्कृष्ट पाँचको छनोट गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय संयोजक रहेको निर्णायक मण्डलमा नेपाल सरकारका भूतपूर्व सचिव जीवनप्रभा लामा, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका भरतबहादुर थापा र पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाह रहेका थिए।
अन्तिम पाँचको छनोटपछि एसएमएस र वेबसाइटबाट प्राप्त मत र निर्णायक मण्डलको मतका आधारमा 'इन्टेग्रिटी आइडल २०१६' घोषणा गरिनेछ।
'पारदर्शिता र सुशासनको वर्तमान अवस्थामा सुधार गर्न सहयोग पुगोस् भनेर यस्तो अभियान थालिएको हो,' आयोजक संस्था एकाउन्टबिलिटी ल्याबका प्रमुख नारायण अधिकारीले भने।
भोटिङ अवधि पुस ७ गते देखि पुस १६ गते शनिबार राति १२ बजे सम्म खुल्ला रहने उनले बताए।