चितवन : नारायणगढ-मुग्लिन सडकखण्डमा बिहान ११ देखि ३ बजेसम्म अन्य सवारी साधन चल्नमा रोक लगाइए पनि पर्यटक बस भने सञ्चालनमा आएका छन्।
बिहानको मुख्य समयमा नै उक्त सडक बन्द हुँदा चितवन आउने पर्यटक अन्यत्र गएको भन्दै चितवनका पर्यटन व्यवसायीले गुनासो गरेपछि स्थानीय प्रशासनले पर्यटक बस सञ्चालन गर्ने निर्णय गरेको हो। 'पर्यटक बोकेका गाडीलाई नरोक्न निर्देशन दिइसकेका छौं,' चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले भने,' कुनै गाडीमा पर्यटक आएको भए र सूचना पाए जानकारी गराउन पनि भनिसकेका छौं।'
चितवनका पर्यटन व्यवसायी तथा क्षेत्रीय पर्यटन संघ चितवनका अध्यक्ष सुमन घिमिरेले सडक अवरुद्ध हुँदा पुस ११ देखि सौराहामा सुरु हुने हात्ती महोत्सव प्रभावित हुने भएकाले यस्तो अनुरोध गरिएको बताए।
चितवनका प्रहरी प्रमुख दीपक थापाले पनि प्रहरीको निगरानीमा हरियो प्लेटका पर्यटक बसलाई पठाउन थालिएको बताएका छन्।
पुस ७ गतेदेखि बिहान ११ देखि अपराह्न ३ बजेसम्म दैनिक ४ घन्टा सडक बन्द गरेर विस्तारको काम भइरहेको छ। सडक साँघुरो भएर निर्माणमा असर परेकाले बन्द गरेरै सडक निर्माण गर्नुपर्ने अवस्था आएको नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले बताए। यो अवरोध कम्तीमा पनि चार महिना जारी रहने उनको भनाइ छ।
सम्बन्धित समाचार : नारायणगढ-मुग्लिन सडक पुस ७ देखि दैनिक ४ घन्टा बन्द हुने