PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

गुटबन्दीले गिजोलिएको कांग्रेस : आफ्नैसँग किन तर्सिन्छन् नेताहरु?



रमेश वाग्ले

गुटबन्दीले गिजोलिएको कांग्रेस : आफ्नैसँग किन तर्सिन्छन् नेताहरु?

काठमाडौं : 'महाधिवेशन भएको दुई महिनाभित्र पदाधिकारी मनोनयन, केन्द्रीय समितिलाई पूर्णतादेखि सबै विभाग र समिति गठन सकिसक्नुपर्ने' व्यवस्था नेपाली कांग्रेसको विधानले गरेको छ। तर, महाधिवेशनपछि सभापति शेरबहादुर देउवासहित पदाधिकारीले कार्यभार सम्हालेको १०औं महिना प्रवेश गर्दा समेत ती काम भएका छैनन्।
 
कांग्रेसभित्रको यो समस्या केन्द्रमा मात्र सीमित नभएर सञ्जालका रुपमा जिल्ला जिल्लामा पनि विस्तारित पाइएको छ। जसरी केन्द्रीय समितिले पूर्णता पाएको छैन त्यसरी नै जिल्ला कार्यसमितिहरु अपूर्ण छन् भने गुटका कारण केन्द्रको भन्दा पनि गम्भीर समस्या स्थानीय तहमा देखिएको छ।
 
यसैबीच दुई दिनसम्म कांग्रेसका कोषाध्यक्षहरुको पहिलो राष्ट्रिय भेला काठमाडौंमा शुक्रबार सकिएको छ। राष्ट्रिय भेलाले १२ बुँदे काठमाडौं घोषणापत्र जारी गरे पनि राष्ट्रिय राजनीतिमा कुनै सम्बोधन देखिन्न। घोषणापत्रले पार्टीको आन्तरिक राजनीतिका विषयमा गम्भीर प्रश्नहरु समेत उठाएको छ। जसमा पार्टीभित्रको गुट, उपगुटको राजनीतिलाई केन्द्रीय समस्याका रुपमा उठान गरिएको छ। महाधिवेशन भएको एक वर्ष हुन लाग्दा समेत केन्द्रीय समितिले पूर्णता नपाउनु, पार्टीका पदाधिकारी मनोनीत नहुनु, पार्टीका विभाग र समितिहरु नबन्नु र प्रवक्ता समेत नतोकिनुलाई गुटको राजनीतिले निम्त्याएको चरम समस्या भन्दै त्यसको असर जिल्ला तहमा फैलिएको र पूरै संगठन धराशायी भएको निष्कर्ष भेलाले निकालेको छ।
 

गुटगत राजनीतिको असर

सर्लाही कांग्रेसका कोषाध्यक्ष बाबुकाजी प्रधान गुटको राजनीतिले आफ्नै संगठनका साथीभाइसँग खुलेर कुरा गर्ने अवस्था नरहेको गुनासो गर्छन्। 'कुन पक्ष भनेर नचिनुनजेल कुरा गर्न नै गाह्रो छ, अरु पार्टीको त विपक्षी भनेर स्पष्ट हुन्छ तर आफ्नो पार्टीमा आफ्नो भनेर कुरा गर्ने अवस्था रहेन,' प्रधानले बाध्यता सुनाए, 'कांग्रेसमा त खुलेर बोल्न पनि डरलाग्दो छ। खुलेर कुरा गर्‍यो अर्को गुटको पर्छ। व्यक्तिगत सेशरिङभन्दा पनि गुटको रिपोर्टिङ ज्यादा हुन थाल्यो।' जिल्लामा केन्द्रीय नेता जाँदा समेत पार्ट्टीका स्थानीय नेताले नै बहिष्कार गर्ने अवस्था आएको उनी बताउँछन्।
 
सर्लाहीमा केन्द्रको नेता जाँदा समेत विरोध हुने गरेको यथार्थ सुनाउँछन् उनी।  'एउटा गुटको नेता गयो भने अर्को गुटकाहरु कार्यक्रममा सहभागी नै हुँदैनन्। उहाँको कार्यक्रम क्यान्सिल भएछ भन्दै हल्ला चलाउँछन्,' उनले भने, 'त्यसरी हल्ला चलाउनेहरु आफ्नो बाहेकका गुटको भनेर केन्द्रीय नेताको कार्यक्रममा जाँदा पनि जाँदैनन्।' केन्द्रबाटै यस्तो प्रवृत्ति फैलिएको उनको बुझाइ छ।
 
संखुवासभा कांग्रेसका कोषाध्यक्ष छत्रमणि काफ्ले केन्द्रीय तहमा शीर्षस्थ नेताहरुबीच विश्वासमा आएको कमीले पार्टी संरचना पूरै अविश्वासको साधन बनिरहेको बताए। 'नेताहरुले संगठनको भन्दा पनि आफ्नो चिन्ता गरेर गुटको सावार्थमा सोचेका कारण यस्तो भएको हो,' काफ्लेले भने, 'यसको असर आउँदै गरेको स्थानीय चुनावमा देखिन सक्छ, आफ्नै कारण नेपाली कांग्रेसले नराम्ररी पराजित हुने हो कि भन्ने मलाई चिन्ता छ।' कार्यकर्ताको तहबाट पर्याप्त ध्यानाकर्षण भए पनि नेताहलाई पार्टीभन्दा आफ्नो व्यक्तिगत स्वार्थमा नै लागेकाले समस्या आएको उनले बताए।
 
कालिकोटका मन्दीप शाही केन्द्रमा भएको गुटबन्दीले स्थानीय तह अस्तव्यस्त बनेको बताउँछन्। 'यो राम्रो भएन, केन्द्रमा संगठनले पूर्णता नपाएको असर बाहिर पनि पर्‍यो, हाम्रो कालिकोटमा पनि पूर्ण भएको छैन,' शाहीले भने, 'चाँडो गर्नुपर्‍यो भन्यो, केन्द्रमा पनि त भएको छैन भनेर पन्छिने गर्छन्।'
 
रोल्पाका खडगबहादुर केसीले अहिलेसम्म पदाधिकारी मनोनीत नहुनु, विभाग र समितिहरु नबनाउनु र जिल्लाहरुमा नभएको कुरालाई पनि बेवास्ता गर्नु पार्टीका नेताले आफ्नो संगठनलाई बेवास्ता गरेको परिणाम भएको बताए। 'यसले कांग्रेस पार्टीलाई उठ्न नसक्ने गरी थला बसाउन सक्छ,' उनी सुझाउँछन्, 'गल्ती सबैबाट हुन्छ, त्यसलाई स्वीकार्ने र सच्याउने आँट नेतृत्वले गर्नुपर्छ।'
 
काभ्रेका कृष्णगोपाल भैल नेतृत्वका केही समस्याले पार्टी र संगठनले पूर्णता नपाएको बताउँछन्। 'कांग्रेस मासबेस्ड पार्टी हो, संगठन किन चाहियो, हल्लाको भरमा चुनाव जितिन्छ भन्ने मनोविज्ञान छ,' वाइवाले भने, 'विधिको कुरा गर्ने तर पार्टी आफैँ विधि अनुसार चल्न नसक्नु राम्रो कुरा होइन।'
 
कास्कीकी लक्ष्मी पाण्डे केन्द्रबाटै सुदृढीकरणको कुरा आफूले नेताहरुलाई भन्दा केन्द्रबाट सम्भव नहुने सुझाव पाएको बताइन्। 'मैले नेतासँग भेट हुँदा- केन्द्रमा सुधार गर्नुपर्‍यो भनेको नेताहरु 'केन्द्र समुद्र हो यसलाई सफा गर्न सजिलो छैन भन्नुहुन्छ,' पाण्डेले भनिन्, 'तपाईंहरुले आआफ्ना जिल्लाबाट सुधार सुरु गर्नुस्, अनि केन्द्र पनि सुदृढ हुन्छ भनेर सुझाव दिनुहुन्छ।' नेताहरुले भनेका कुरा अब जिल्लाले कुनै गुट वा नेताको लाइन नभनी अभ्यासमा ल्याउनुपर्ने उनी बताउँछिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell