PahiloPost

Jun 15, 2025 | १ असार २०८२

बक्सिङ खेलका लागि मन्त्री लेखकले दिए १० लाख रकम



पहिलोपोस्ट

भीमदत्तनगर : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले जिल्ला बक्सिङ सङ्घ कञ्चनपुरलाई सांसद विकास कोषबाट रु १० लाख प्रदान गरेका छन्।
 
कञ्चनपुर क्षेत्र नं ४ बाट निर्वाचित सांसद लेखकले खेलाडीको प्रशिक्षण सहजताका लागि ‘बक्सिङ रिङ’ खरिद गर्न सो रकम दिएका हुन्।
 
जिल्ला बक्सिङ सङ्घका अध्यक्ष लोकबहादुर ठकुराठीले करिब दुई वर्ष नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकको श्रमदान र स्थानीय दाताको सहयोगमा भीमदत्तनगरस्थित कबर्ड हल परिसरमा आधुनिक बक्सिङ प्रशिक्षण केन्द्र निर्माण भएको जानकारी दिए।
 
बक्सिङ प्रशिक्षण केन्द्रमा केही अधुरा काम पूरा गर्न र खेलकुद सामग्री खरिद गर्न केही समयअघि सांसद आनन्दी पन्तबाट रु दुई लाख प्राप्त भएको थियो।
 
२०४० सालदेखि कञ्चनपुरमा बक्सिङ खेलको सुरुआत भए पनि हालसम्म जिल्लामा रिङ तथा आवश्यक प्रशिक्षण सामग्री थिएन। बक्सिङ ओलम्पियन विष्णुबहादुर सिंह र डम्बरदत्त भट्टले यहाँ विकास गरेको बक्सिङमा पछिल्लो समय नयाँ खेलाडीको आकर्षण बढिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell