PahiloPost

Apr 2, 2025 | १९ चैत्र २०८१

कांग्रेसको 'कोर टिम' बैठक : स्थानीय चुनाव गराउन पहल थाल्ने, संशोधन विधेयक फिर्ताबारे के हुँदैछ?



पहिलोपोस्ट

काठमाडौं : नेपाली कांग्रेसको 'कोर टिम' बैठकले पार्टी र सरकारलाई चुनाव केन्द्रित गराउनुपर्ने विषयमा छलफल थालेको छ।
 
पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको कार्यालयमा बोलाएको बैठकमा पदाधिकारी, पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यहरुले नेतृत्वलाई यस्तो सुझाव दिएका हुन्।
 
'स्थानीय चुनाव चाँडो गराउन पहल लिने र सरकारलाई पनि त्यसैमा आफूलाई केन्द्रित गर्ने विषयमा छलफल भएको छ,' केन्द्रीय सदस्य महेश आचार्यले भने, 'तर आज हामी कुनै पनि निर्णयमा पुगेका छैनौं, भोलि बिहान ८ बजे पुनः बस्ने बैठकमा थप छलफल हुनेछ।'
 
निर्वाचनका लागि संविधान संशोधन विधेयक स्थगित गर्नुपर्छ भन्ने सुझाव आएको हो? भन्ने प्रश्नमा उने त्यस्तो सुझाव नआएको बताए। 'हामीले निर्वाचन केन्द्रित हुनुपर्छ भनेर छलफल थालेकै हौं, तर निर्णयमा पुगिसकेका छैनौं,' आचार्यले भने, 'विधेयक नै रोक्नुपर्छ भन्ने सुझाव आएको छैन।' उनले समसामयिक विषयमा निर्णयमा पुग्न थप छलफल आवश्यक भएकैले बैठकलाई भोलि पनि निरन्तरता दिन लागेको बताए।
 
कांग्रेस सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल सहित वर्तमान महामन्त्री डा. शशांक कोइरालालाई बैठकमा सहभागी गराएका थिए भने पूर्व पदाधिकारीहरु प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ र कृष्णप्रसाद सिटौलालाई बैठकमा बोलाएका थिए।
 
बैठकमा कोषाध्यक्ष सीतादेवी यादव भने सहभागी भइनन् भने केन्द्रीय सदस्यहरु रामशरण महत, महेश आचार्य र चीनकाजी श्रेष्ठ उपस्थित थिए। सरकारमा सहभागी भएकाहरुबाट भने बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि र रक्षामन्त्री बालकृष्ण खाँड मात्र पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell