विराटनगर : आर्मीका रविना महर्जन र स्वेच्छा नेम्वाङ्गको जोडीले सातौं राष्ट्रिय खेलकुदमा टेबल टेनिस महिला जोडीतर्फ स्वर्ण पदक जितेका छन्।
रविना र स्वेच्छाको जोडीले पुलिसका नविता महर्जन र एलिना महर्जनको जोडीलाई फाइननलमा ७–११, ११–७, ११–६, ७–११ र ११–३ ले पराजित गर्दै स्वर्ण पदक प्राप्त गर्न सफल भए। एपीएफका शेलिषा र सोनु तथा आर्मीका दिक्षा र सिक्काको जोडीले कास्यमा चित्त बुझाए।
पुरुष जोडीतर्फ पुलिसका प्रदीप रोक्का र विनेश खनियाको जोडीले एपीएफका शिवसुन्दर गोथे र अमरलाल मल्लको जोडी माथि ११–९, ११–९, ३–११ र ११–९को जित हात पार्दै स्वर्ण जिते।
यस्तै पुलिसका दीप साउन र स्यान्टु श्रेष्ठ तथा पुरुषोत्तम र चन्दन शाहीको जोडीले कास्य हात पारे।
शहिद रङ्गशालास्थित कभर्डहलमा भएको महिला टिम ईभेन्टस्मा पुलिसले एपीएफलाई ३–१ ले पराजित गर्दै स्वर्ण जिते भने एपीएफ रजतमा खुम्चिन बाध्य भयो। आर्मी र मध्यमाञ्चलले कास्य जिते।
यसै विधाको पुरुषतर्फको खेलमा पनि पुलिसले जित हात पारेको छ। पुलिसले एपिएफलाई ३–१ ले नै पराजित गर्दै स्वर्ण थप गर्यो। एपीएफ रजतम खुम्चिँदा मध्यमाञ्चल र पूर्वाञ्चलले कास्य प्राप्त गरे।