PahiloPost

Apr 2, 2025 | १९ चैत्र २०८१

घर पुनर्निर्माणका लागि अनुदान रकम पाउनेको सूचीमा सवा ६ लाख घरधनी



पहिलोपोस्ट

घर पुनर्निर्माणका लागि अनुदान रकम पाउनेको सूचीमा सवा ६ लाख घरधनी

काठमाडौं : भूकम्प अति प्रभावित १४ जिल्लाका ६ लाख २६ हजार ३६ घरधनी घर पुनर्निर्माणका लागि सरकारले उपलब्ध गराउने अनुदान रकम प्राप्त गर्न सूचीकृत भइसकेका छन्।
 
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन भएको एक वर्ष पुगेको अवसरमा आज  आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास पुनर्निर्माणलाई विशेष प्राथमिकता दिइएको बताए।
 
पुस ८ गतेसम्म ५ लाख ४३ हजार १ सय ७ घरधनीले अनुदान सम्झौता गरेका छन् भने ४ लाख ५८ हजार ५ सय ९२ घरधनीले अनुदान रकम प्राप्त गरी घर पुनर्निर्माण गर्ने वातावरण तयार भएको प्राधिकरणले जनाएको छ। भूकम्प अति प्रभावित १४ जिल्लापछि प्राधिकरणले भूकम्पबाट प्रभावित र कम प्रभावित १७ जिल्लामा सर्वेक्षणको काम अघि बढाएको ज्ञवालीले बताए।
 
भूकम्प प्रभावित क्षेत्रमा ४१ हजार ३ सय ११ घर निर्माण भएको र १७ हजार १ सय ४४ घरको पुनर्निर्माण जारी रहेको उनले बताए।
 
घरधुरी सर्वेक्षण, अनुदान सम्झौता र वितरणका क्रममा २ लाख ४ हजार १ सय ७७ वटा गुनासा स्थानीय तहमा दर्ता भएका छन्। जसमध्ये प्राधिकरणको केन्द्रमा १ लाख ७ हजार गुनासा प्राप्त भएका छन्।
 
यसबीचमा पुरातात्विक सम्पदाहरु मध्ये १५ वटा सम्पदाको पुननिर्माण कार्य सम्पन्न भएको जानकारी दिँदै ज्ञवालीले ६९ वटा सम्पदाको पुनर्निर्माण कार्य जारी रहेको बताए।
 
यस्तै २ सय स्वास्थ्य केन्द्रको प्रिफेब्रिकेटेड संरचनामा पुनर्निर्माण सम्पन्न भइसकेको, १६९ वटा स्वास्थ्य केन्द्रको पुनर्निर्माण जारी रहेको र चालू आर्थिक वर्षभित्रै २६८ वटा स्वास्थ्य केन्द्र तथा संस्थाको पुनर्निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको उनको भनाइ छ।
 
त्यसैगरी ३२ वटा सरकारी भवनको प्रिफेब्रिकेटेड संरचनामा पुनर्निर्माण सम्पन्न भएको छ भने २२८ वटा सरकारी भवन पुनर्निर्माणको चरणमा छन्। चालू आर्थिक वर्षभित्रै केन्द्र र जिल्ला तहका स्थायी एवम् प्रिफ्रेब्रिकेटेड गरी ५०७ वटा भवन पुनर्निर्माण गर्ने प्राधिकरणको लक्ष्य छ।

शैक्षिक संस्थातर्फ २ सय विद्यालयको पुनर्निर्माण भएको छ। १२ सय विद्यालय पुनर्निर्माणको प्रक्रियामा छन्।
 
भूकम्पबाट क्षति भएका खानेपानी आयोजना मध्ये २९७ वटाको पुनर्निर्माण कार्य सम्पन्न भइसकेको र ९६१ आयोजनाहरुको पुनर्निर्माण भइरहेको पनि कार्यक्रममा अधिकृत ज्ञवालीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell