
काठमाडौं: गायिका रेखा शाहले आफूभन्दा आधा उमेरका कलाकार आयुष्मान देशराज जोशीसँग जोडी बाँधेकी छिन्। आफ्नै गीत 'तिमी बिना म' मा पनि रेखाले आयुष्मानसँग अभिनय गरेकी हुन्। भिडियो आईतबारदेखि युट्युबमा सार्वजनिक भएको छ।
'मैले आफूलाई योङ देखिन गर्न पर्ने सबै खालको मिहेनत गरेको छु', उनले आफूले अझै पनि नयाँ पुस्ताको कलाकारसँग जोडी बाँध्न सुहाउने बताइन्।
रेखाले आयुष्मानसँगको उमेर अन्तरका कारण भिडियो छायंकन गर्दा केही अप्ठेरो भएको स्वीकार गरिन्। 'कति पटक निर्देशक नितिन कुमार चन्दको गाली खान पर्थ्यो तर आयुष्मानले वातावरण धेरै सहज बनाइदिन्थ्यो,' उनले भनिन्।
गीतमा बलिउड गायक गौरव डागोनकरले रेखालाई स्वरमा साथ दिएका छन्। भुपेन्द्र खड्काको शब्द रहेको गीत इन्डियाको यशराज स्टुडियोमा रेकर्ड गरिएको हो।
गीतको क्वालिटीमा ध्यान दिएकै कारण भारतमा रेकर्ड गरेको उनको दाबी छ। 'नेपालको प्रविधी प्रयोगमा बिकास भएपनि अझै भरपर्दो भइसकेको छैन', उनले भनिन्, 'नचाहाँदा नचाहाँदै के के समस्या पर्छ।'
२०४९ सालमा सिमसिमे पानीमा बोलको गीत लेखेर र गाएर चर्चामा आएकी रेखा अहिले संगीत अध्ययन गरिरहेकी छिन्। सिमसिमे पानीमा पछि 'तिमी बिना म' गीतबाट आफूले धेरै आशा गरेको उनले दावी गरिन्। 'सिमसेमे पानी गाउँदा मलाइ गीतको बारेमा नलेज हुनुपर्छ जस्तो लाग्दैन थियो', रेखाले भनिन्, 'तर अहिले त्यो आवश्यकता महसुस गरेको छु। त्यसैले संगित पढ्दै, सिक्दै गाउँदै छु।'
रेखाले भनिन् - 'त्यसैले यो गीत र भिडियोको लागि मन खोलेर लगानी गरेको छु।'
आफ्नो गीतको म्युजिक भिडियोमा अभिनयका लागि आयुष्मानलाई एक लाख पारिश्रमिक दिएको समेत उनले दावी गरिन्। भिडियो कै लागि मोटो रकम दिनुको कारणबारे रेखा भन्छिन् - 'उसको क्रेज बढ्दो छ। दर्शकले रुचाउने कुरा नै त दिएको हुँ।'
गीतमा संगीत कमल खत्रीले दिएका छन् भने संगीत संयोजन निलेशले गरेका हुन्।
यस्तो छ भिडियो: