टोकियो : उत्तरी जापानमा भएको भीषण हिमपातका कारण हवाई तथा रेलसेवा अवरुद्ध हुँदा हजारौ यात्रु अलपत्र परेका छन् । होकाइदो द्विपमा शुक्रबार बेलुका ९६ सेन्टीमिटरसम्म हिउँ जमेको थियो । जापानको मौसम विज्ञान निकायले आधा शताब्दीकै सबैभन्दा धेरै हिउँ परेको बताएका छन्।
उत्तरी क्षेत्रमा जाने प्रमुखद्धारको रुपमा रहेको न्यु चिटोसे विमानस्थलका सयौँ उडान हिमपातका कारण स्थगित भएका छन् विमानस्थलका सुरक्षा अधिकारीहरुले बिहीबार दुई हजार पाँच सय, शुक्रबार छ हजार र शनिबार दुई छ सय जना विमानस्थलमै जवरजस्ती रातभरी बसेका बताएका छन्।
बिदा मनाउनका लागि सबैजसो उडानहरु भरिएकाले विमानस्थलमा यात्रुहरुको दुर्दशा भएको जापानको राष्ट्रिय प्रसारण एनएचकेले जनाएको छ। शुक्रबार मात्रै २८० भन्दाबढी उडान र हप्तान्तमा सयभन्दा बढी रेलसेवा रद्ध भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। तर आइतबारदेखि भने मौसममा धेरै सुधार आएको बताइएको छ।
निकै ठूलो पहाडी क्षेत्र र धुले हिउँका लागि प्रख्यात होकाईदोमा जापानका नागरिकबाहेक अस्ट्रेलिया र चीनबाट पनि पर्यटक आउने गर्दछन्।