PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

अस्तव्यस्त राजधानी : एम्बुलेन्स नै फस्छ जाममा, यस्ता छन् जाम बढ्नुका कारण



सविन ढकाल

अस्तव्यस्त राजधानी : एम्बुलेन्स नै फस्छ जाममा, यस्ता छन् जाम बढ्नुका कारण

काठमाडौं : मुटुको रोगले फत्र्याकफत्र्याक बिरामीलाई सिनामंगलबाट एम्बुलेन्समा हालेर चालक कपिल सुवेदी रातोबत्ती र साइरन बजाउँदै थापाथलीमा रहेका नर्भिक अस्पतालतिर हान्निए। सिनामंगलबाट तीनकुने नपुग्दै ट्राफिक जाममा फसे उनी।
 
एम्बुलेन्सको इसारा बुझ्ने कोही थिएनन्। सँगै भएको ट्राफिक प्रहरीले पनि कुनै सहयोग गर्न सकेनन्। दायाँबायाँ सडक प्रयोग गरेर उनी निस्कन खोजे तर सकेनन्। उता बिरामी भने अचेत थिए। केही समयमा जाम खुल्यो। एम्बुलेन्स रफ्तारमा हुइँकियो।
 
नयाँ बानेश्वर चोक नपुग्दै एम्बुलेन्स पुन: रोकियो। कारण, उही जाम। उनले प्रहरीलाई फोन गरे। प्रहरीले सडकको जाम पन्छाएर २ बजे अस्पताल पुर्‍यायो। बिहानको पौने ११ बजे सिनामंगलबाट बानेश्वर, बबहरमल थापाथलीको जाम छिचोलेर नर्भिक अस्पताल पुग्न २ घन्टा लाग्यो। सडक खाली हुँदा ७ मिनेट लाग्ने बाटोको दुरी छिचोल्न जामकै कारण २ घन्टा लाग्यो। चालक सुवेदी भन्छन्, 'अहिले बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म राजधानीको जामले केही मिनेटको बाटोमा पनि घन्टौं  बिताउनुपर्छ।'
 
राजधानीमा एम्बुलेन्स चालकले नै जामको कारण यतिका सास्ती भोगिरहेका छन् भने आम सर्वसाधारणको हालत कस्तो होला? कति ठाउँमा ब्रेक र सवारीको स्टार्ट बन्द गरेर गन्तव्यमा पुग्न सकिन्छ? तपाईं आफैंले भोग्नुभएकै होला।
 

ट्राफिक जाम एरिया


कुनै बेला कोटेश्वरलाई मुख्य जाम हुने स्थानको रुपमा लिने गरिन्थ्यो। अहिले कोटेश्वरको जाम केही कम भए पनि पूरै हट्न सकेको छैन। अहिले राजधानीको कलंकी, बबहरमल, थापाथली, नयाँ बानेश्वर, सातदोबाटो, चाबहिल, जावलाखेल, सानेपा, सल्लाघारी, गौशाला, चाबहिल, बौद्ध, लगनखेल, सुकेधारा लगायतका स्थानमा बढी जाम हुने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखा एसएपी लोकेन्द्रबहादुर मल्ल बताउँछन्।

यी स्थानमा सवारी चालकले अफिस समयको बेला १० देखि २० मिनेट जाममै बिताउनुपर्छ। मुख्य जाम हुने सडक भएर गन्तव्यमा पुग्नुछ भने बाटोमा नै एक घन्टा बित्छ। त्यस्तै पछिल्लो समय राजधानीका भित्री सडकहरु मित्रपार्क, कमलपोखरी, बागबजार, पुतलीसडक लगायतका स्थानमा पनि जाम हुने क्रम बढ्दै गएको छ।
 
कलंकी : पछिल्लो समय राजधानीमा कलंकी सबैभन्दा धेरै जाम हुने क्षेत्रमा पर्छ। बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ५ पछि यस क्षेत्रमा जाम हुने गरेको छ। कलंकीको जाम छिचोलन कम्तीमा पनि २० देखि ३० मिनेट लाग्ने गर्छ। राजधानी भित्रिने मुख्य नाका रहेकाले दैनिक ३ हजार सवारी भित्रिने हुँदा बढी जाम हुने गरेको छ। सडक विस्तारको काम भइरहेकाले पनि यहाँ जामको सास्ती झेल्नुपर्छ।
 
नयाँ बानेश्वर : बिहान ९ बजेदेखि १२ बजेसम्म र साँझ ५ बजेपछि यस स्थानमा बढी जाम हुने गरेको छ। हामीले कार्यालय समयमा कति मिनेटसम्म जाम हुने रहेछ भनेर गरेको अवलोकनमा नयाँ बानेश्वरको जाम खुल्न करिब १५ मिनेट लाग्यो। पुरानो बानेश्वर, शंखमुल, बबरमहल, तीनकुनेबाट आउने सवारीको केन्द्र भएकाले यस ठाउँमा बढी जाम हुने गरेको छ। त्यस्तै आकाशे पुलको अभावमा पनि जाम हुने गरेको छ। संसद भवन नजिकै भएकाले बैठकको दिन प्रधानमन्त्री, मन्त्री लगायतका व्यक्तिको सवारी हुँदा पनि जामको समय बढ्न जान्छ।
 
कोटेश्वर : कोटेश्वरको सडक विस्तार गरी जापान सरकारको सहयोगमा ६ लेनको बनाएपछि पनि जाम हट्न सकेको छैन। कोटेश्वरमा अहिले पनि अफिस समय कम्तीमा १० मिनेटदेखि ३० मिनेटसम्म यात्रुले समय जाममा नै खर्चिनुपर्छ। अरनिको राजमार्ग पर्ने भएकाले सिन्धुपाल्चोक, सिन्धुली, भक्तपुर भएर उपत्यकाबाट बाहिरिने सवारीको सङख्या बढेसँगै जाम बढेको छ।
 
चाबहिल : चाबहिल राजधानीको मुख्य व्यापारिक केन्द्र हो। त्यसैले यस स्थानमा सवारीसँगै मानिसको उपस्थिति बाक्लो छ। पछिल्लो समय चाबहिल, बौद्ध स्थानका सडक विस्तारको कामले गर्दा यस क्षेत्रमा जाम बढेको छ।
 
गौशाला : गौशालामा हुने जामले गर्दा यात्रुले बिहान ९ देखि १२ बजेसम्म र साँझ ५ बजेदेखि ८ बजेसम्म मिनेटौं समय खर्च गरिरहेका छन्। चौबाटोको संगम भएको र आकशे पुल नहुँदा यस क्षेत्रमा बढी जाम हुने गरेको छ। उपत्यका बाहिरने दिवा र रात्रिबसको काउन्टरले गर्दा पनि यस क्षेत्रमा बढी जाम छ।
 

किन हुन्छ जाम?

ट्राफिक प्रहरी दिनरात सडकमा खटिए पनि उपत्यकाको सवारी जाम बीसबाट उन्नाइस हुन सकेको छैन। ट्राफिक प्रहरीको जनशक्ति थपिए पनि जाम उस्तै छ।
 
अहिले सडकमा हुने जाम खुलाउन १२ सय ट्राफिक प्रहरी परिचाल गरिएको छ। २०७० सालमा ८ सय रहेको ट्राफिक प्रहरीको संख्या बढाएर अहिले १२ सय पुर्‍याइएको हो। जनशक्ति, यान्त्रिक उपकरणको अभाव, साँघुरो सडक, सडक तथा पुल निमार्ण, पैदल यात्री, सवारी चालकको लापरबाही कारणले जाम हुन गरेको ट्राफिक प्रहरीको भनाइ छ। अहिले सडकमा खटिएका एक ट्राफिकले करिब एक हजार सवारीलाई हेर्नुपर्ने अवस्था छ। उपत्यकामा हुने विभिन्न र्‍यायाली, विरोध, प्रदर्शन साथै विशिष्ट व्यक्तिको आवतजावतले समेत ट्राफिक जाम हुने गरेको छ।
 
ट्राफिक बत्तीको दुरवस्था : सडकमा सवारी चलाउदा ट्राफिक प्रहरीले हातको इसाराले तपाईंको सवारीलाई रोक्छन्। यसरी रोकिएको सवारी कतिखेर गुडाउने ट्राफिक प्रहरीको मुडमा नै भर पर्छ। सडकमा रातो बल्दा रोकिने, हरियो बल्दा हिँड्ने भन्ने कुनै अवस्था नै छैन। उपत्यकाभित्र जडान भएका २२ ट्राफिक बत्तीमध्ये अहिले मुस्किलले ८ वटा बत्तीले मात्र काम गरिरहेका छन्। भक्तपुर अरनिको राजमार्ग अन्तर्गतका ठिमी, सल्लाघारी, सूर्यविनायक, चारदोबाटोका ट्राफिक बत्तीले काम गरे पनि ललितपुर र काठमाडौंमा ट्राफिक बत्ती राखिएका मात्र छन् तर तिनले काम गरेका छैननन्।
 
समयमा नै मर्मतसम्भार र नयाँ बत्ती जडान हुन नसक्दा राजधानीभित्र केशरहमल, पुतलीसडक, पद्मोदयमोड, तीनकुने, कोटेश्वर, सिंहदरवार गौशाला, थापाथली, कालिमाटीमा रहेका बत्ती ट्राफिक संकेतको लागि होइन नमुनाका लागि मात्र जोडिएका जस्ता भएका छन्। बत्तीले काम नगर्दा ट्राफिक प्रहरीलाई काम गर्न समस्या भएको एसपी लोकेन्द्रबहादुर मल्लले बताए।

 
कम आकाशे पुल : तपाईं नयाँ बानेश्वर चोकबाट सडक वारिपारि गर्नुपर्ने छ भने करिब १० मिनेट बाटो क्रस गर्नलाई नै छुट्टयाए हुन्छ। ट्राफिकले दुवैतर्फको सवारी रोकेपछि मात्र सडक पार गर्न मिल्छ। यतिन्जेलमा बाटो काट्नै पैदल यात्रु सयौंको संख्यामा भेला भइसकेका हुन्छन्। उनीहरुले बाटो काटुन्जेल सडकमा सवारीको जाम बानेश्वरबाट बबहरमल र तीनकुनेसम्म पुगिसकेको हुन्छ।
 
अहिले उपत्यकाभित्र २२ वटा आकाशे पुल सञ्चालनमा छन् । तर पनि पछिल्लो समय मानिसको बढी आवतजावत हुने स्थानहरु नयाँ बानेश्वर, गौशाला, चाबहिल, घन्टाघर, त्रिपुरेश्वर, जावलाखेल लगायतका स्थानमा आकाशे पुलको अभाव हुँदा ट्राफिक जाम हुने गरेको छ।
 
सडकको अवस्था : डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा सुरु भएको राजधानीका सडक विस्तार अझै सकिएको छैन। उपत्यकाभित्र हाल करिब १ हजार ५ सय किलोमिटर सडक रहेको छ। गत आर्थिक वर्ष २०७२/७३ सालमा २६ किलोमिटर सडक विस्तार भएको सडक विभागका रमेशकुमार सिंहले बताए। १ सय ९७ किलोमिटर सडक विस्तार गर्ने लक्ष्य राखिए पनि अहिलेसम्म ७६ किलोमिटर मात्र विस्तार भएको छ।

सवारी साधनको वृद्धिदर सयभन्दा बढी हुँदा सडक सञ्जालको वृद्धि भने ज्यादै न्युन छ। सडक विभागका अनुसार अहिले त्रिपुरेश्वर–कलंकी–नागढुंगा १२.४८ किमि, चाबहिल–जोरपाटी–साँखु १२ किमि, जोरपाटी–सुन्दरीजल ७ किमि, लगनखेल–सातदोबाटो ८ सय मिटर, इमाडोल–सिद्धिपुर–गोदावरी ३ किमि, कर्मनास–हरिसिद्धि ४ किलोमिटर, ढोलाहिटी–चापाँगाउँ ७ किमि, नख्खु– भैसेपाटी–बुङ्मती ३ किलोमिटर सडक विस्तारको काम भइरहेको छ।
 
ट्राफिकको लापरबाही र भिआइपी सवारी : पछिल्लो समय अति विशिष्ट, विशिष्ट व्यक्तिको सवारी आगमनको कारणले पनि ट्राफिक जाम हुने गरेको छ। भिआइपी व्यक्तिको लागि वैकल्पिक बाटो नहुँदा सर्वसाधारणहरु घन्टौंसम्म जाममा पर्ने गरेका छन्।
 
ट्राफिक प्रहरीकै लापरबाही र व्यवस्थापनमा कमजोरी हुँदा पनि जाम हुने गरेको देखिएको छ।
 

२० वर्षमा ११ लाख सवारी थपिए

उपत्यकामा हुने जामको प्रमुख कारण सवारी साधनको अत्यधिक वृद्धि पनि देखिएको छ। अहिले देशभर कार, जिप, बस, ट्रक मोटरसाइकल लगायतका सवारीको संख्या २३ लाख ५० हजारको हाराहारीमा रहेको छ। जसमध्ये पनि १८ लाख मोटरसाइकल मात्र रहेका छन्।
 
२० वर्षको अवधिमा उपत्यकामा मात्र ११ लाख सवारीसाधन थपिएका छन्। २०५१ सालमा उपत्यकाभित्र ७८ हजार सवारीसाधन दर्ता भएका थिए। अहिले उपत्यकाभित्र करिब ११ लाख ४० हजार सवारीसाधन गुडिरहेको छन्। ८ लाख ८० हजार मोटरसाइकल र २ लाख ३५ हजार चारपांग्रे यहाँका सडकमा गुड्ने गरेका छन्।
 
उपत्यकाभित्र प्रत्येक वर्ष औसत ७० हजारको संख्यामा मोटरसाइकल र १० हजारको संख्यामा चारपांग्रे सवारी थपिने गरेको बाग्मती यातायात व्यवस्था कार्यालयका प्रमुख वसन्त अधिकारीले बताए। २०६५ सालयता सवारीसाधन थपिने क्रम अस्वाभाविक रुपमा बढेको उनी बताउँछन्। '२०६५ मा ३ लाखको हाराहारीमा रहेको मोटरसाइकलको संख्या ८ वर्षको अवधिका ९ लाख पुगेको छ,' अधिकारी भन्छन्, 'जुन ३ सय प्रतिशतले वृद्धि हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell