PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

प्रदेश २ लाई पनि पहाडसँग जोडेर संविधान संशोधन गर्नुपर्ने ओलीको नयाँ प्रस्ताव



रमेश वाग्ले

प्रदेश २ लाई पनि पहाडसँग जोडेर संविधान संशोधन गर्नुपर्ने ओलीको नयाँ प्रस्ताव

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई नम्बर प्रदेशलाई पहाडसँग जोड्ने गरी संविधान संशोधनको प्रस्ताव गरेका छन्। 

यसअघि संविधान संशोधनको विपक्षमा रहेका ओलीले पाँच नम्बर प्रदेशलाई यथावत राखेर पहाडसँग जोड्ने गरी दुई नम्बर प्रदेशको सीमाङ्कन परिवर्तनको प्रस्ताव अघि सारेका हुन्। 

आफ्नै पार्टी कार्यालय धुम्बाराहीमा 'मधेस समस्या र समाधान’ विषयक अन्तरक्रियामा ओलीले पाँच नम्बर प्रदेशको सीमा परिवर्तन समस्याको समाधान नभएर नयाँ समस्याको सुरुवात हुने जिकिर गरे। स्थायी समाधानका लागि प्रदेश नम्बर दुईलाई पहाडसँग जोड्ने गरी संविधान संशोधन गर्नुपर्ने उनको प्रस्ताव रह्यो। 

'संविधान हामीले नै जारी गरेको हुनाले अहिले म प्रदेश नम्बर २ ठीक भएन भन्दिनँ,' ओलीले भने, 'तर हामीले त्यतिबेला समस्या समाधान हुन्छ कि भनेर गल्ती गरेकै हो।' उनले गल्ति सच्याउन सकिने भन्दै अहिले पाँच नम्बर टुक्र्याउँदा अर्को गल्ती हुने भन्दै २ नम्बरको सीमा संशोधन गरेर विगतको गल्ती सच्याउन सकिने बताए। 

संघीयता धर्म होइन

उनले संघीयता भनेको कुनै धर्म नभएको भन्दै त्यसलाई सच्याउन वा छोड्न सकिने सांकेतिक धारणा राखे। 'संघीयताका विषयमा बहस पनि गर्न नहुने यो कुनै धर्म हैन, मलाई अपराधीकरण गर्ने मनसायले पाँच (विकास क्षेत्रलाई) प्रदेश (बनाउनु पर्ने) भन्यो भनेर पनि हल्ला चलाइयो, तर त्यो हल्ला चलाएकोप्रति म खुशी नै छु।' 

उनले नेकपा एमाले मधेसको दोस्रो पार्टी भएको दावी गर्दै कूल ११६ मा १२ सिट जित्नेले त्यहाँका जनताको दुहाइ दिएर नेकपा एमालेको तेजोबध गर्ने प्रयत्न गरेको आरोप लगाए। 

‘सँधै मान्नुपर्छ भन्ने छैन’

उनले कांग्रेसले मधेसमा दुई प्रदेश बनाउँदा सबैले मान्छन् भनेका कारण २०७१ मंसिरमा कांग्रेस र एमालेले मधेसमा दुई प्रदेशको खाका ल्याएको बताउँदै त्यसलाई मधेसी दल र माओवादीले पनि नमानेका कारण फिर्ता गरेको बताए। 

'हो, मधेसमा दुई प्रदेश बनाउने प्रस्तावमा सुशील कोइराला र मैले हस्ताक्षर गरेकै हो तर एकपटक गरेको सहमतिको हस्ताक्षर सँधै मान्नुपर्छ भन्ने छैन,' ओलीले भने, 'यदि एकपटक हस्ताक्षर सँधै मान्नुपर्छ भने प्रचण्डले प्रधानमन्त्री बन्न मेरो प्रस्तावक बनेर हस्ताक्षर गरेका थिए। किन समर्थन फिर्ता लिएको, मान्नु पर्दैन?'

अनुचित सम्झौता

उनले कांग्रेस-माओवादी र मधेसीबीच भएको सात बुँदे सम्झौता एमालेलाई सत्ताच्युत गर्न गरेको अनुचित सम्झौता भन्दै अहिलेको संविधान संशोधन प्रस्ताव त्यही अनुचित सम्झौताको वैधानीकरण भएको अर्थ्याए। 

'सात बुँदे एमालेलाई सत्ताबाट हटाउन गरिएको अनुचित सम्झौता थियो,' उनले भने, 'अनुचित सम्झौतालाई संविधान संशोधन गरेर वैधानिकता दिन सकिँदैन।' 

ओलीले सम्झौता हस्ताक्षर नेपालमै भए पनि त्यसको खाका अन्तै तयार भएको दावी दोहोर्‍याए। 

उनले विगतमा मानिएको भए पाँच नम्बर प्रदेश अहिलेकै खाकामा बन्ने भन्दै त्यो पनि तत्काल समस्या बल्झाउनका लागि मात्र मानिएकाले एमालेले समर्थन नगर्ने बताए। 

'पाँच नम्बर प्रदेश टुक्राउने कुरा कथित मधेसीहरुले नै तत्कालका लागि मात्र मान्ने भनेका छन्। त्यसलाई मानेर अर्कै लक्ष्य प्राप्तिको हतियार बनाउन खोजिएको छ,' उनले दोहोर्‍याए, 'यदि संविधान संशोधन गरेर समाधान खोज्ने हो भने अब पाँच नम्बर हैन, दुई नम्बर प्रदेश पहाडसँग जोड्ने गरी संशोधन गर्नुपर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell