PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

हत्याका अभियुक्त साल्ट ट्रेडिङको जिन्सी प्रमुख!



सविन ढकाल

हत्याका अभियुक्त साल्ट ट्रेडिङको जिन्सी प्रमुख!

काठमाडौं : प्रहरीकहाँ कुनै व्यक्तिबारे सामान्य गलत रिपोर्ट छ भने पनि उसलाई सरकारी जागिर खान गाह्रो हुन्छ। त्यसैले कसैको हत्या गरेर फरार व्यक्तिले सरकारी संस्थानको जागिर खाइरहेको छ भनेर तपाईं पत्याउनुहुन्छ?

प्रकाश भनिने मिलन श्रेष्ठ प्रहरीको फन्दामा परेपछि भने पत्याउन बाध्य बनाएको छ। काठमाडौंको सामाखुसीमा एक जनाको हत्या गरी फरार उनी शुक्रबार पोखराको पृथ्वीचोकमा पक्राउ परे। पक्राउ पर्दा उनी साल्ट ट्रेडिङको अञ्चल कार्यालय कस्कीका जिन्सी प्रमुख थिए।
 
२०६३ असार ३२ गते वैकुण्ठ राना मगरको हत्या गरी फरार भएका दोलखा भीमेश्वर नगरपालिका-१ का ३० वर्षीय श्रेष्ठलाई १० वर्षपछि पक्राउ गर्न प्रहरी सफल भएको छ।
 
श्रेष्ठसहित ७ जनाले मगरलाई फलामको रडले हानेर हत्या गरेका थिए। हत्या गरेपछि श्रेष्ठ दक्षिणकालीको बाटो हुँदै मकवानपुर गए। र, केही समय त्यतै लुके।
 
घटना साम्य भएको बुझेपछि उनी राजधानी फर्किए। कोठा लिएर गुपचुप बस्न थाले। प्रहरीको आँखाबाट लुकेर बसेका श्रेष्ठले २०६६ सालमा साल्ट ट्रेडिङमा खरदारको जागिर खाए। यसपछि उनको सरकारी जागिर बाग्लुङ सर्‍यो।
 
घटना भएको १० वर्षसम्म प्रहरीले पक्राउ गर्न नसक्दा उनलाई लागेको थियो- हत्या गरेर बच्न सफल भएँ।
 
प्रहरीले मगरको हत्या आरोपमा उनलाई भने खोजी गरिरहेको थियो। एक वर्षअघि मात्र हत्यामा संलग्न श्रेष्ठका सहयोगीलाई पक्राउ गरेर प्रहरी थप अनुसन्धानमै रहेको बताउँछन् महानगरीय अपराध अनुसन्धान महाशाखाका डिएसपी दीपक रेग्मी।
 
तिनै सहयोगीको सूचनाको आधारमा श्रेष्ठ पोखराबाट पक्राउ परे। 'उनले कसरी संस्थानमा जागिर खाए भन्ने विषयमा पनि हामीले अनुसन्धान जारी राखेका छौं,' डिएसपी रेग्मीले भने, 'कुनै पनि संस्थानमा काम गर्नका लागि प्रहरीको रिपोर्ट आवश्यक पर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell