काठमाडौं: त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पार्किङ विस्तारको ठेक्का पाएको स्पेनिस कम्पनी सानजोसे कन्स्ट्रक्टोराको ठेक्का रद्द भएको छ।
सन् २०१६ भित्र काम सकिसक्नुपर्नेमा हालसम्म २० प्रतिशत पनि काम नगरेपछि नेपाल नागरिक उड्ययन प्राधिकरणले सानजोसेसँगको ठेक्का रद्द गरेको हो। कम्पनीले विमानस्थलमा रनवेको विस्तार, नयाँ पार्कीङ, टर्मिनल भवन तथा कन्भेयर वेल्ट विस्तार लगायतको जिम्मा पाएको थियो।
१६ अर्व रुपैयाँको थियो परियोजना
एशियाली विकास बैंकको १६ अर्व रुपैयाँको यो परियोजनामा अब नयाँ प्रक्रियाबाट टेण्डर गर्ने तयारी पर्यटन मन्त्रालयले गरेको छ।ठेक्का रद्दसँगै बैंक ग्यारेन्टी बसेका नेपाल इन्भेष्टमेन्ट बैङ्क र लक्ष्मी बैङ्कले प्राधिकरणलाई रकम भुक्तानी गरेका छन्। दुई बैंकले पनि केही दिनभित्रै ग्यारेन्टि वापतको रकम स्पेनिस बैंकबाट पाउँदैछन्।
'क्रिसमसलगायत विदाले गर्दा हामीले पैसा पाउन ढिलाइ भएको छ। आजभोली नै त्यो पैसा आइहाल्छ' इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले बिजमाण्डूसँग भने।
फिर्ता आयो बैंक ग्यारेन्टी
स्पेनको बैंन्को सान्टेन्डरबाट ७५ करोड र ला-काइजाबाट ५४ करोड रुपैयाँ इन्भेष्टमेन्ट बैंकले पाउने छ। दुबै बैकबाट लक्ष्मी बैंकले करिव ३५ करोड रुपैयाँ पाउनु पर्नेछ।सन् २०१६ भित्र काम सकिसक्नु पर्नेमा हालसम्म २० प्रतिशत पनि काम नगरेपछि नेपाल प्राधिकरणले सानजोसेसँगको ठेक्का रद्द गरेको हो।
प्राधिकरणले जनवरीमा ग्लोवल टेण्डर आह्वान गरी बाँकि रहेको कामका लागि निरन्तरता दिने गौतमले बताए। हाल टेण्डर तयारीका लागि काम भइरहेको छ।
सन् २०१३ को मार्चबाट काम सुरु गरेको सान्जोसेले २०१६ को मार्चभित्र काम सकिसक्नुपर्ने भए पनि अहिलेसम्मको भौतिक प्रगति निकै कम भएका कारण ठेक्का रद्द गरेको प्राधिकरणका महाप्रवन्धक सञ्जिव गौतमले बताए।
सानजोसेले भूकम्प र नाकावन्दीका कारण माटो नपाएको भन्दै त्रिभुवन विमानस्थलको पार्किङ विस्तार अगाडि नवढेको जनाएको थियो।
माटो नपाउँदा भएको थियो समस्या
सरकारले सुरुमा सो कम्पनीलाई पशुपति क्षेत्रको माटो निकाल्न दिने भने पनि पछि विश्व सम्पदा सुचिमा सुचिकृत भएकाले त्यहाँबाट निकाल्न मिलेन। माटो निकाल्न नपाएपछि कम्पनी अन्यौलमा थियो। कम्पनीले पशुपति क्षेत्र वाहिरबाट माटो नल्याउने अडान लिएपछि प्राधिकरण र कम्पनीबीच असहमति बढेको थियो।कम्पनीले प्राधिकरणसँग कामै नगरी साढे दुई अर्ब क्षतिपूर्ति माग गरेपछि विवाद सतहमा आएको थियो । सान्जोसेले तीन वर्षको अवधिमा १६ प्रतिशत काम गरेबापत अनुमानित करिब ९६ करोड रुपैयाँ लगिसकेको छ। उसले क्षतिपुर्ति वापत यसको दोब्बर क्षतिपुर्ति माग गरेको थियो। प्राधिकरणले क्षतिपुर्ति नदिने भएपछि उसले अदालत गुहारेको थियो।
कम्पनीले दायर गरेको मुद्दामा काठमाडौं जिल्ला अदालतले प्राधिकरणको पक्षमा फैसला गर्यो। उसले फेरि पाटन उच्च अदालतमा मुद्दा हाल्यो। त्यहाँबाट पनि प्राधिकरणको पक्षमा नै फैसला आयो।
सानजोसेले आज सोमवारसम्म विमानस्थल विस्तारका सवै काम सकाएर प्राधिकरणलाई हस्तान्तरण गर्नुपर्ने सम्झौता गरेको थियो।