PahiloPost

Jun 21, 2025 | ७ असार २०८२

नेपाल-चीन सैन्य अभ्यासको खबरले भारत तनावमा



पहिलोपोस्ट

नेपाल-चीन सैन्य अभ्यासको खबरले भारत तनावमा

नयाँदिल्ली : नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन-भारत सम्बन्धलाई सन्तुलनमा राख्ने कोसिस गरिरहेका बेला चीनसँग गर्न लागिएको प्रस्तावित सैन्य अभ्यासले दिल्लीलाई बेचैन बनाएको नवभारत टाइम्सले लेखेको छ। 'प्रतिकार' नामको यो सैन्य अभ्यास आउँदो साल हुनेछ।
 
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकै कार्यकालको समय भारत-नेपाल सम्बन्धमा तनाव बढे पनि प्रचण्डले प्रधानमन्त्री पद सम्हालेपछि चिसिएको सम्बन्धमा सुधार आएको थियो।
 
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले यो अभ्यास सामान्य तहको हुने भएकाले भारतले चिन्ता लिनुपर्ने आवश्यकता नभएको बताएका छन्। 'हामीले पहिले पनि यस्ता अभ्यास दोस्रो देशसँग गर्दै आएका थियौं,' उपाध्यायले भने, 'भारत र नेपालको सम्बन्ध अहिले पनि राम्रो छ। यो सैन्य अभ्यासका कारण सम्बन्धमा कुनै परिवर्तन हुनेछैन।'
 
आतंकविरोधी अपरेशनका लागि यस्तो अभ्यासबाट नेपालले फाइदा लिएको थियो। बितेको एक दशकदेखि भारत र नेपालबीच सैन्य अभ्यास हुँदै आए पनि चीनसँग भने पहिलो पटक यस्तो अभ्यास गर्न लागेको हो। यसले भारतलाई तनाव पैदा गरेको छ।
 
विदेश मन्त्रालयका अनुसार भारत र नेपालबीच भएको रक्षा सम्झौता अनुसार सैन्य शिक्षा आदानप्रदान, संयुक्त अभ्यास तथा उपकरणको आयात गर्ने जनाइएको छ। अहिले पनि ३२ हजार नेपालीहरु भारतीय सेनामा कार्यरत छन्।
 
चीन र नेपालबीच हुने प्रस्तावित सैन्य अभ्यासको खबर भारतीय सेना प्रमुख दलवीर सिंहले काठमाडौं गएको एक महिनापछि पाएको नवभारत टाइम्सले लेखेको छ।
 
नेपालसँग सैन्य सम्बन्ध सुधार गरेर चीन भारतसँग कडा रुपमा प्रस्तुत हुन चाहन्छ। ग्लोबल टाइम्समा भारतलाई चेतावनी दिँदै चिनियाँ लेखकले लेखेका छन्, 'भारत सधैं नेपाललाई पछाडिबाट प्रयोग गर्न चाहन्छ। यो न व्यवहारिक छ न त सम्भव नै। नेपाल-चीनबीचको बढ्दो सहयोगमा भारतले कुनै पनि दबाब दिन सक्दैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell