PahiloPost

Dec 31, 2024 | १६ पुष २०८१

'होलिडे मुड'मा सांसद : रिसोर्टमा ब्रेकफाष्ट, फाइभस्टारमा डिनर



मनोज सत्याल

'होलिडे मुड'मा सांसद : रिसोर्टमा ब्रेकफाष्ट, फाइभस्टारमा डिनर

काठमाडौँ : पूर्व सभासद् बुद्धरत्न मानन्धरको शोक प्रस्ताव पारित गर्दै मंगलबारको संसद बैठक टुङ्गियो। बैठक स्थगित भएको घोषणा लगत्तै एक डफ्फा सांसद लाइन लागेर संसद परिरसरमा रहेको गाडी चढे। त्यो गाडी नयाँबानेश्वर,कोटेश्वर हुँदै धुलिखेलतिर हान्‍नियो।

सांसदलाई धुलिखेलको आरामदायी रात बिताउने चाँजोपाँजो मिलाइदिएको थियो संसदको वातावरण समितिले। मंगलबार नै संसदको अर्को डफ्फा धुलिखेल पुग्यो। देवानी संहिताबारे छलफल गर्न धुलिखेल माउन्टेन रिसोर्ट पुगेका विधायन समितिका सांसद संसद सचिवालयको गाडी लिएर गएका थिए।

सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसद चल्न नदिएको एक महिना हुन लागेको छ। बैठक बस्छ, एमालेका सांसद उभिएर विरोध जनाउँछन्, अनि सभामुख ओनसरी घर्तीले बैठक स्थगित गर्छिन्। 

बैठक स्थगित भएपछि संसदमा सांसदको उपस्थिति हाजिरीमा मात्रै सीमित भए पनि उनीहरु फुर्सदमा भने छैनन्।

कोही तारे होटलमा ब्रेकफास्ट, लञ्च र डिनर गरिरहेका भेटिन्छन् कोही रिसोर्टमा। मंगलबार नै एक डफ्फा सांसद होटल याक एण्ड यतिमा भेटिए। उनीहरु मधेस आयोग गठनका लागि सरकारले ल्याएको विधेयकको छलफलका लागि होटलमा पुगेका थिए।

बिहान भएको छलफलमा अधिवक्ता सतीश कुमार झा र दीपेन्द्र झाले कार्यपत्र प्रस्तुत गरे जसमा सांसदको भूमिका उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्ने मात्रै देखियो।

संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिले पनि सांसदलाई याक एण्ड यतिमा नै राखेको थियो। राज्य व्यवस्था परामर्श समितिले केही दिनअघि निर्वाचनका विषयमा होटल याक एण्ड यतिमा नै छलफल राख्यो।

निर्वाचन सम्बन्धि तीन विधेयक समितिमा छन् तर समितिले विधेयक माथि छलफल गरेर टुङ्गोमा पुग्न सकेको छैन। तर सांसदहरुको होटलमा हुने छलफलमा भने बाक्लो सहभागिता देखिन्छ।

सामाजिक न्याय तथा मानवअधिकार समितिले पछिल्ला छ वटा विधेयकमा राजधानीको होटल हिमालय, याक एण्ड यति र र्‍याडिसनमा कार्यक्रम गरेको थियो। र्‍याडिसनमा समावेशी आयोगबारे छलफल थियो भने होटल हिमालयमा थारु आयोग। सोमबार आदिवासी जनजाति आयोगको छलफल पनि त्यही होटलमा जारी थियो।

छलफल नेशनल डेमोक्रेटिक इन्स्टिच्युट (एनडिआइ) नामक आइएनजिओले चलाएको थियो। अमेरिकाको वासिङ्गटनमा कार्यालय रहेको यो संस्थाले राजनीति दलको विकास कार्यक्रम सञ्चालन गर्छ। 

सामाजिक न्याय तथा मानवअधिकार समितिका सचिव रोजनाथ पाण्डे दलको नाममा खर्च हुने पैसा आफुहरुले सदुपयोग गरेको दावी गर्छन्।संसदीय समितिहरुले तारे होटलमा बैठक गरे पनि ब्यानर समेत राख्दैनन्। आयोजकको नाम समेत खुलाउँदैनन्।

याक एण्ड यतिको कार्यक्रमको ब्यानरमा व्यवस्थापिका संसद सचिवालय मात्र लेखिएको थियो।
 

 कानुन बनाउन आइएनजिओको लगानी

आइएनजिओको लगानी छलफलमा मात्र सीमित छैन। कानुन बनाउने काममा समेत सांसदको भूमिका देखिन्न।

मुलुकी ऐनलाई प्रतिस्थापन गर्न ल्याउन लागिएको देवानी र फौजदारी कानुन र कार्यविधिको ब्याख्यात्मक टिप्पणी जापानी सहयोग नियोग (जाइका) र बेलायती सहयोग नियोग (युनडिपी)को लगानीमा तयार भएको हो।

विदेशी लगानीमा सांसदलाई सहभागी नगराई बाहिरका कानुन व्यवसायीले ब्याख्यात्मक टिप्पणी लेखी छपाई गरेर समितिमा ल्याइदिएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell