काठमाडौं : प्रतिपक्ष दलहरुको अवरोधका कारण लगातार औपचारिकतामा सीमित हुदै आएको व्यवस्थापिका संसद्को वैठक आज पनि बस्दैछ।
मंगलवार पूव सभासद् बुद्धरत्न मानन्धरको निधनमा शोक प्रस्ताव पारित गरेपछि बैठक आज दिनको ३ बजेसम्मका लागि स्थगित भएको थियो।
सरकार र सदन अवरुद्ध गरिरहेका राजनीतिक दलवीचमा कुनैपनि औपचारिक÷अनौपचारिक समझदारी नभएका कारण बुधवारको बैठकपनि कार्यसूचीमा प्रवेश गर्ने सम्भावना छैन ।
कार्यसूचीमा प्रवेश गर्ने निश्चित नभएपनि संसद् सचिवालयले बुधवारको सम्भावित कार्यसूची भने प्रकाशित गरेको छ । सचिवालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र संसद्मा पढेर सुनाउने लगायतका ६ वटा कार्यसूची प्रकाशन गरेको छ।
निर्वाचनसँग सम्वन्धित दुई विधेयक र संविधान संशोधन प्रस्ताव सदनमा पेश गर्नेपनि सम्भावित कार्यसूची छ । यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्विन प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध सदनमा विचाराधीन महाभियोग प्रस्तावको छलफल जारी रहनेपनि सम्भावित कार्यसूची छ।
मंगलवार शोक प्रस्ताव पारितका लागि संसद् सुचारु भएपनि वुधवार संसद् चल्ने निश्चित छैन । प्रतिपक्ष दलहरुको अवरोधका कारण यसअघि ९ पटक वैठक कार्यसूचीमा प्रवेश गर्न सकेको छैन।