PahiloPost

Dec 29, 2025 | १४ पुष २०८२

नयाँ घर बनाइदिन मुसहर बस्ती पुग्दा धुर्मुसलाई १०५ वर्षीया वृद्धाको स्वागत



पहिलोपोस्ट

नयाँ घर बनाइदिन मुसहर बस्ती पुग्दा धुर्मुसलाई १०५ वर्षीया वृद्धाको स्वागत

महोत्तरी : मुसहर बस्तीमा बन्न लागेको तेस्रो एकीकृत नमुना बस्ती निर्माणका लागि कलाकार सीताराम कट्टेल धुर्मुस महोत्तरीको बर्दिबास पुगेका छन्।
 
धुर्मुस सुन्तली फाउण्डेशनले एक साताअघि बर्दिबासको मुसहर बस्तीमा बस्ती निर्माणको घोषणा गरेको थियो। अति विपन्न ५० परिवार मुसहरहरुका लागि धुर्मुस-सुन्तलीको अगुवाइमा नयाँ घर निर्माण हुनेछ।

मंगलबार पुगेका कलाकारको स्वागतमा सिंगो मुसहर बस्ती उर्लिएको थियो। उनीहरु आउने खबरले खुसी बनेकी एक सय पाँच वर्षीया मरनी सादाले माला र अबिर लगाएर स्वागत गरिन्। उनी वर्षौंदेखि बाख्रा बाँध्ने खोरमै सुत्दै आएकी छन्। कठ्यांग्रिदो जाडोमा भुइँमै पराल ओछ्याएर बोरा ओढेर सुत्नु उनको बाध्यता बनेको छ। मरनीले धुर्मुसलाई भेटेपछि निकै खुसी हुँदै भनिन्, ‘हाम्रो हाम्रो त जीवनै बरबाद भएको थियो। घर बनाउन लाग्नुभयो। ल बाबु ठूलो मानिस बन्नु, यो बुढी आमाको आशीर्वाद छ!’

 
स्थानीयको स्वागतले आफूहरुलाई काम गर्न हौसला बढाएको धुर्मुसले बताए। ‘मुसहर बस्तीबाट मानवता र सद्भावका लागि सहकार्य गर्दै विकासका लागि मुल फुटाउन खोजेका हौं,' उनले भने, ‘हामी सबै खटिएमा देश अवश्य बन्छ।’
 
उनले स्थानीय राजनीतिक दलका नेताहरुसंग मुसहर बस्ती निर्माण सम्बन्धमा अन्तरक्रिया तथा सार्वजनीक सुनवाइ पनि गरेका छन्। स्थानीय राजनीतिक दलका नेताहरुले मुसहर बस्तीको मुहार फेर्न भारी बोक्न तयार भएको सामूहिक रुपमा प्रतिबद्धता सहित घोषणा गरे।
 
चार करोड ७८ लाखको लागतमा मुसहर बस्ती निर्माण हुँदैछ। मुसहरहरुलाई नयाँ वर्षमा नयाँ घर उपहार स्वरुप दिने योजना सहित धुर्मुस-सुन्तली फाउण्डेशनले काम थालनी गरेको हो। यसअघि फाउण्डेशनले काभ्रेको डाँडागाउँ र सिन्धुपाल्चोकको मेलम्चीस्थित गिरानचौरमा एकीकृत बस्ती निर्माण सम्पन्न गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell