PahiloPost

Apr 11, 2025 | २८ चैत्र २०८१

महानगरमा ८० प्रतिशत घर नियम मिच्दै ठडिए, एक हजार घरधनीबाट उजुरी



पहिलोपोस्ट

महानगरमा ८० प्रतिशत घर नियम मिच्दै ठडिए, एक हजार घरधनीबाट उजुरी

काठमाडौँ : महानगरपालिकामा निर्माण भएका करिब एक हजार घरधनीले नियमविपरीत घर निर्माण भएको जनाउँदै निवेदन दिएका छन्।
 
नियमविपरीत निर्माण भएका घरलाई करको दायरामा ल्याउनका लागि कामपाले चालेको अभियानमा अहिलेसम्म करिब एक हजार घरधनीले निवेदन दिएको कामपा, राजस्व महाशाखा प्रमुख महेश काफ्लेले जानकारी दिए। कामपाले एक महिनाअघि ३५ वटै वडामा नियमविपरीत निर्माण भएका घरलाई निवेदन दिनका लागि सूचना दिएको थियो।
 
नक्सा पास नभएको तर नियमविपरीत निर्माण भएको घरका लागि नक्सा पास गराउन, नक्सा पास भएर पनि सोही अनुरुप निर्माण नभएकाको तथ्याङ्क राख्न र कति नक्साअनुसार निर्माण भएका छन् भन्ने कुराको जानकारी राख्नका लागि कामपाले यस्तो अभियान ल्याएको प्रमुख काफ्लेको भनाइ छ।
 
यही पुस मसान्तसम्म घरधनीले कामपामा निवेदन पेस गर्न पाउनेछन्। निवेदनसँगै नागरिकले करको लालपुर्जा, कर बुझाइएको बिल तथा घरबहालमा दिएको भए त्यसको कागजपत्रसमेत पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।
 
सहरी विकास विभाग प्रमुख इन्जिनियर राम थापाले डिल्लीबजार, बागबजार र घट्टेकुलो क्षेत्रबाट निवेदन आए पनि असन, भोटाहिटी र कान्तिपथ क्षेत्रमा बढी घर नियम विपरीतको भएको बताए। यस्तो तथ्याङ्कले भत्काउनुपर्ने घरलाई भत्काउन र आवश्यकता परे कानुनको तर्जुमा गर्नसमेत सहयोग पुग्ने कामपाले जनाएको छ।
 
सामान्य नियम उल्लङ्घन गरेका बाहेक सार्वजनिक स्थानमा निर्माण भएका र छिमेकीलाई असर पुग्ने गरी बनेका घर तथ्याङ्कका आधारमा कामपाले भत्काउनेछ। कामपाले ३५ वटै वडामा निर्माण भएका घरमध्ये ८० प्रतिशत नियमविपरीत निर्माण भएको हुन सक्ने अनुमान गरेको छ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell