
एक गोलले पछि परेको अवस्था उल्टाउँदै स्टोकी सिटीलाई ४-१ ले पराजित गरेको लिभरपुल प्रिमियर लिगको दोस्रो स्थानमा उक्लेको छ।
लिभरपुलको घरेलु मैदान एनफिल्डमा १२ औं मिनेटमै जोनाथान वाल्टरसले गोल गर्दै स्टोक सिटीलाई पहिले अग्रता दिलाएका थिए। तर स्टोकको अग्रता लामो समय टिकेन।
लिभरपुलका एडम लालानाले ३५ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो हाफ सकिन एक मिनेट अगाडी रोवर्ट फिरमिन्होले गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए।
दोस्रो हाफमा पनि लिभरपुलले दुई गोल थप्यो। ५९ औं मिनेट स्टोकका एम्बुला वांगाले आत्मघाती गोल गरे।
त्यसपछि ड्यानियल स्टुरिजले मैदान प्रवेश गरेको ५६ सेकेण्डमै गोल गर्दै लिभरपुललाई ४-१ को जित दिलाए। स्टुरिज ७० औं मिनेटमा डिभोक ओरिगीको स्थानमा मैदान प्रवेश गरेका थिए।
जितपछि १८ खेलबाट ४० अंक जोडेको लिभरपुल म्यानचेष्टर सिटीलाई १ अंकले पछि पार्दै दोस्रो स्थानमा उक्लेको हो। जुन शीर्ष स्थानमा रहेको चेल्सी भन्दा ६ अंकले कम हो।