PahiloPost

Dec 31, 2024 | १६ पुष २०८१

​स्थानीय तह निर्वाचनमा तीन दल नजिक, संसदको गतिरोध उस्तै



मनोज सत्याल

​स्थानीय तह निर्वाचनमा तीन दल नजिक, संसदको गतिरोध उस्तै

काठमाडौं : राजनीतिक गतिरोध हटाउन बसेको बैठकमा स्थानीय तह निर्वाचनमा तीन दलका नेता सहमती नजिक आएका छन्। बैठकमा सहभागी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अब नयाँ संरचना अनुसारको स्थानीय तहको निर्वाचन गर्नुपर्ने धारणा राख्दै मिति घोषणा गर्न माग गरेको हो।  

तीन दलको बैठकमा संसदमा जारी गतिरोध हटाउने विषयमा भने सकारात्मक छलफल भएन। बैठकमा सत्ताधारी माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताले संसदको गतिरोध खुलाउन प्रतिपक्षी एमालेलाई आग्रह गरेका थिए।  

संविधान संशोधन प्रस्तावको विपक्षमा संसद अवरोध गर्दै आएको नेकपा एमालेका अध्यक्ष केपी ओलीले बैठकमा निर्वाचनको विषयमा आफ्नो दल सकारात्मक रहेको तर संशोधन प्रस्ताव संसदमा अगाडि बढाउने पक्षमा नरहेको जवाफ दिएका थिए। 

बैठकमा सहभागि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले स्थानीय तहको निर्वाचनको मिति मोटामोटी एक साता भित्र घोषणा हुने दावी गरे। एमाले स्थानिय तह निर्वाचनको पक्षमा सकारात्मक रहेको र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘जे गर्न सकिन्छ त्यसै गरौं’ भनेको जानकारी दिए। ‘यस विषयमा अब सरकारले मधेसी मोर्चासँग छलफल गर्छ’,उनले भने ‘एक महिना वा १५ दिन भन्ने नहोला। मिति चाँडै घोषणा हुन्छ।’

बैठकमा सहभागी उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले निर्वाचनलाई भन्दा संसद खुलाउने विषयमा भएको छलफलमा जोड दिएका थिए। उनले निर्वाचनको बारेमा पनि छलफल भएको भन्दै संसदमा निर्वाचन सम्बन्धि ५ विधेयक रहेकाले असहमती संसद मै राखेर अवरोध खोल्न आग्रह गर्दा प्रमुख प्रतिपक्षले अस्विकार गरेको जानकारी दिए। 

एमाले उपाध्यक्ष भिम रावलले अब स्थानीय तहको निर्वाचन गर्नुपर्छ भन्ने पक्षमा एमाले पुगेको जानकारी दिए। 'स्थानीय तह पुर्नसंरचना आयोगले प्रतिवेदन तयार पारिसकेको अवस्थामा अब स्थानीय निकायकै निर्वाचन गर्नु उत्तम हुने' एमालेको धारणा रहेको उनले जानकारी दिए।
 
बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिकृयादिँदै एमाले नेता माधव नेपालले भने ‘शीर्ष नेताले आआफ्नो धारण राख्ने काम भयो, फेरी बस्ने कुरा भयो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell