इटहरी : सातौं राष्ट्रिय खेलकुदअन्तर्गत भलिबलतर्फको उपाधि नेपाल आर्मी र एपीएफले जितेका छन्।
आर्मीले पुरुषतर्फको भलिबलमा त्रिभुवन एपीएफलाई हराउँदै स्वर्ण पदक जितेको हो भने एपीएफले महिलातर्फ मध्यमाञ्चललाई हराउँदै स्वर्ण जितेको हो। आर्मी र एपीएफ दुवै फाइनलमा ३-० को सोझो सेटमा विजयी भए।
सुनसरीस्थित इटहरी रंगशालामा भएको पुरुष तर्फको विभागिय फाइनलमा आर्मीले एपीएफलाई २५-१६, २५-१५, २५-१६ को सेटमा हरायो।
महिलातर्फको फाइनलमा एपीएफले मध्यमाञ्चललाई २५-२१, २५-२१ र २५-२२ को सेटमा हराएको हो।
यस्तै पुरुष भलिबलमा नेपाल पुलिसले कास्य पदक जितेको छ भने महिला भलिबलमा पश्चिमाञ्चलले कास्य पदक जितेको छ। पुरुष भलिबलमा पश्चिमाञ्चलले नखेलेपछि पुलिसले कास्य जितेको हो। महिला भलिबलमा भने पश्चिमाञ्चलले नेपाल पुलिसलाई हराउँदै कास्य जितेको छ।