
काठमाडौं : बुद्धनगर रहेको बैदेशिक रोजगार विभागमा वल्लो र पल्लो कोठा गर्दा थाकेका खगेन्द्र चौधरी खिन्न थिए। रोजगारीको बहानामा ठगिएको पैसा उठ्ला कि भन्ने आशमा विभाग धाइरहेका उनी जति दिन ढल्दै गयो त्यति निरास हुँदै थिए।
महिनाको ५० हजार कमाइहुने आशमा डाइनामिक ग्लोवल म्यानपावर कम्पनीलाई १ लाख २० हजार बुझाएका उनी कतार पुगेर पनि जागिर नभएपछी नेपाल फर्किएका थिए। कम्पनीले काममा बोलाउने आशमा उतै ३ महिना विताउँदा लगभग ४ लाख ५० हजार रुपैंया गुमाएपछि नेपाल फर्किएका उनी डुबेको पैसा उठाउन विभाग धाइरहेका छन् । तर, उठ्ने लक्षण भने देखेका छैनन्।
‘पैसा उठ्ने आश त छैन, तै पनि यसो दया पलाएर काम भइहाल्छ कि भनेर धाउन छाडेको छैन’ उनले भने। उनी ठगिएको पहिलो पटक रहेनछ। एक बर्ष अघि कामका लागि विदेश जान भन्दै प्रोग्रेसिफ मेनपावरलाई बुझाएको एक लाख अझै उठेको छैन । म्यानपावरले उनलाई एक लाख फिर्ता गर्दै चेक त दियो तर चेक साटिएन।
विभागकी निर्देशक रमा भट्टरार्इका अनुसार खगेन्द्र जस्तै ठगिएको उजुरी दैनिक ५ भन्दा बढि विभागमा आउने गरेको छ। वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बिमल ढकाल साउदीमा आर्थिक मन्दीका कारण केही कम्पनीले समयमा नै तलव नदिँदा उजुरी बढेको दाबी गर्छन्।
हरेक वर्ष २ अर्ब बराबर ठगी
रोजगारीको सपना देखाएर ठगी गर्ने श्रृंखला नयाँ हैन । वैदेशिक रोजगारीका नाममा ठगिनेको संख्या उच्च देखिन्छ। ८ बर्षको अन्तरालमा उजुरी दिनेको सङख्या झन्डै ४ गुणाले बढेको विभागको तथ्याकंले यो थप बढ्दो क्रममा रहेको देखाउँछ।विभागको तथ्यांक अनुसार हरेक वर्ष ८ सय हाराहारी ठगीको उजुरी दर्ता हुने गरेको छ। उजुरीमा दाबी गरिएको रकम जोड्दा वार्षिक २ अर्ब हाराहारी पुग्छ। उजुरीको संख्या अनुसारको कारवाहीको तथ्यांक हेर्ने हो भने विभाग निरीह देखिन्छ।
तथ्यांक अनुसार आर्थिक बर्ष २०६५\०६६ मा विदेश पठाउँछु भनेर ठगी गरेको भन्दै ८ सय ६५ जनाले उजुरी दिएका थिए । आर्थिक बर्ष ०७२\०७३ पुग्दा उजुरीको संख्या ३ हजार हाराहारी टेकिसकेको छ। आर्थिक बर्ष २०६६\६७ मा ६ सय ५५ वटा उजुरी दर्ता भएको थियो।
आब०६७\०६८ मा उजुरीकर्ताको सङख्या बढेर १ हजार २ सय ४ पुग्यो । ०७०\०७१ मा २ हजार २ सय ५१ उजुरी विभागमा पर्यो। उजुरीमध्ये १ हजार ५ सय ७७ वटा म्यानपावर ठगीबारे थियो।
चालु आर्थिक बर्षको ५ महिनामा मात्र ८ सय ७७ बटा उजुरी परिसकेका छन् । विभागमा परेको उजुरी र ठगिएको दाबी गरेको रकम जोड्दा २ अर्ब हाराहारी टेक्छ।
प्रहरीमा पनि उस्तै चाप
विभाग मात्रै हैन रोजगारको प्रलोभनमा ठगी गरेको भन्ने दाबी सहित प्रहरीमा आउने उजुरीको संख्या समेत उस्तै छ। महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार दैनिक ४ देखि ७ वटासम्म म्यानपावर ठगीका उजुरी आउँछन्।१८ महिनाको अवधिमा महाशाखामा परेको ठगी सम्बन्धि १ हजार २ सय उजुरी मध्ये ५ सय भन्दा बढी बैदेशिक रोजगार सम्वन्धी महाशाखाका प्रहरी निरीक्षक गोविन्द पन्थीले जानकारी दिए ।
सरकारी मापदण्ड कागजी बाघ
वैदेशिक रोजगारको आवरणमा हुने ठगी रोक्न सरकारले मापदण्ड नबनाएको हैन। उसले निश्चित रकम समेत तोकेको छ। तर तोकिएको रकममा रोजगारीमा जान सम्भव छैन।मलेसिया, कतार, साउदी, दुवई लगायतका देशमा जान युवाहरुले १ लाख देखि २ लाखसम्म बुझाउने गरेका छन् । सरकारले ६ बटा मुलुकमा फ्रि, भिसा, फ्रि टिकट नीति कागजमा आए पनि कार्यान्वयनमा आउन सकेन ।
‘सरकारले तोकेको पैसा बुझाएर जान खोज्ने हो भने कुनै एजेन्सीले लैजादैनन्,’ रोगजारीको लागि कतार जाने तयारीमा रहेका लागेका युवा नारायण भट्टराइले भने‘ बुझाएको रकमको भपाई दिन्नन् र एयरर्पोटमा सोध्यो भने के भन्ने सिकाएर पठाएको हुन्छ।’ संघका अध्यक्ष ढकाल सरकारले लागु गरेको फ्रि टिकट र भिसाको व्यवस्थामा कामनै गर्न नसक्ने बताउँछन्।