काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको ब्युरोक्रेसीका कारण कुनै पनि काम फ्याट्ट गरिहाल्ने अवस्था नरहेको बाध्यता सुनाएका छन्।
साझा प्रकाशनको केन्द्रीय कार्यालय पुल्चोकमा आज आयोजित 'साझा सम्मान' कार्यक्रममा बोल्दै उनले ब्युरोक्रेसीको ठूलो जञ्जालका कारण प्रधानमन्त्रीले चाहनेबित्तिकै भइहाल्ने सिस्टम नरहेको बताए।
मंसिर २६ गते साझाका लागि १० करोड अनुदान र २० करोड रुपैयाँ ऋण दिने सरकारी निर्णयको प्रसंग झिक्दै उनले भने, 'म ४० करोड नै अनुदान दिन चाहन्थेँ। तर ब्युरोक्रेसीका कारण सम्भव नहुँदो रहेछ।' अहिले दिइएको सहयोग सानो सहयोग मात्र भएको भन्दै उनले आफू यसबाट सन्तुष्ट नभएको बताए।
नेपालको साहित्य संस्कृतिको क्षेत्रमा साझाको ऐतिहासिक भूमिका रहेको चर्चा गर्दै उनले आफूमा सुरुदेखि नै संसथका लागि केही गर्नुपर्छ भन्ने भावना जागेको सुनाए। पार्टी अध्यक्ष वा प्रधानमन्त्रीको हैसियतमा साझा बचाउनका लागि निरन्तर सहयोग रहने पनि उनले प्रतिबद्धता जनाएका छन्।
कार्यालयको जीर्ण भवन र निर्माणाधीन भवनको अवलोकन समेत गरेका उनले आवश्यक सहयोगका लागि भोलिको क्याबिनेट बैठकदेखि नै पहल गर्ने विश्वास दिलाए। वर्षौंदेखि तलब-सुविधा नपाएका कर्मचारीहरुको बारेमा पनि आफूले सकेसम्म सहयोग गर्ने उनको भनाइ थियो।
'जनक शिक्षा र साझा बारेका चर्चा मैले सुनिरहेको छु,' मञ्चमै रहेका शिक्षामन्त्री धनीराम पौडेलतिर संकेत गर्दै उनले भने, 'दुई संस्थालाई अगाडि बढाउन कार्यविभाजन लगायतका कुरामा रचनात्मक ढंगले अब काम गर्नुपर्नेछ।'
साझाजस्ता सार्वजनिक सरकारी संस्थाको हालत खराब हुँदै जाने र निजी वा व्यक्तिगत संस्थाको फलिफाप हुँदै जाने संस्कार सबैको लागि विडम्बना रहेको भन्दै प्रधानमन्त्रीले चिन्ता व्यक्त गरे।
साझा सम्मान पाएका राष्ट्रकवि माधवप्रसाद घिमिरे, आख्यानकार मदनमणि दीक्षित र शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रधानमन्त्रीले सम्मान प्रदान गरेका थिए। सोही कार्यक्रममा उनले साझाबाट प्रकाशित ताराकान्त पाण्डेयको 'मार्क्सवाद, सांस्कृतिक अध्ययन र साहित्यको समाजशास्त्र' र निनु चापागाईंको 'पूर्ववाद र सइदेली विचार' पुस्तकको लोकार्पण गरे।