
राजविराज : सातौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनको अन्तिम दिन बुधबार पनि नयाँ राष्ट्रिय कीर्तिमान बनेको छ। राजविराजमा चार दिन चलेको भारोत्तोलनको प्रत्येक दिन नयाँ राष्ट्रिय कीर्तिमान बनेको हो।
अन्तिम दिन पुरुष १०५ केजीमाथि नेपाल आर्मी क्लबका पुकार गुरुङले स्न्याचमा १२४ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको १२३ केजीको कीर्तिमानमा सुधार गरे। उनले गत वर्ष थाइल्यान्डमा भएको एसियाली च्याम्पियनसिपमा उक्त कीर्तिमान बनाएका थिए। पुकारले स्न्याचमा १२४ केजीसहित क्लिन एन्ड जर्कमा १३५ केजी गरी कूल २५९ केजी भार उचाल्दै स्वर्ण जिते।
मध्यमाञ्चलका राजिव महर्जन दोश्रो भए। उनले स्न्याचमा ९० र क्लिन एन्ड जर्कमा ११३ गरी जम्मा २०३ केजी वजन उठाएर रजत जिते। कास्य जितेका सुदूरपश्चिमाञ्चलका सुवास उपाध्यायले स्न्याचमा ९१ र क्लिन एन्ड जर्कमा ११० गरी जम्मा २०१ केजी भार वहन गरे।
पहिलो दिन नेपाल प्रहरीकी देवी चौधरीले महिला ५३ केजीको स्न्याचमा कीर्तिमान रचेकी थिइन्। दोश्रो दिन आर्मीकी कमला श्रेष्ठले महिला ५८ केजीको स्न्याच, क्लिन एन्ड जर्क र जम्मामा राष्ट्रिय कीर्तिमान स्थापित गरिन् भने त्यसै दिन आर्मीका कमलबहादुर अधिकारीले पुरुष ८५ केजीको क्लिन एन्ड जर्कमा राष्ट्रिय कीर्तिमान बनाएका थिए।
यस्तै तेश्रो दिन प्रहरीका दिनेश श्रेष्ठले पुरुष ९४ केजीको स्न्याच, क्लिन एन्ड जर्क र जम्मामा कीर्तिमान बनाउन सफल भएका थिए।
पुरुषको १०५ केजीमुनि प्रहरीका गगन चन्दले स्वर्ण जिते। उनले स्न्याचमा ९६ र क्लिन एन्ड जर्कमा ११८ गरी जम्मा २१४ केजी भार उठाए।
स्न्याचमा ९६ र क्लिन एन्ड जर्कमा ११७ गरी कूल २१३ केजी वजन उठाएका प्रहरीकै विपेन्द्र महर्जन दोश्रो भए। मध्यमाञ्चलका आशिक हुसैन तेश्रो बने। उनले स्न्याचमा ९० र क्लिन एन्ड जर्कमा १०८ गरी जम्मा १९८ केजी भार वहन गरे।
प्रतियोगितामा पाँच विकास क्षेत्रसहित तीन विभागीय टोली आर्मी, प्रहरी र एपीएफका गरी जम्मा १०३ खेलाडीले १५ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए। पुरुषमा ८ र महिलामा ७ स्पर्धा समावेश थियो।
कबड्डी : आर्मीलाई दुई स्वर्ण
आर्मीले कबड्डीको पुरुष र महिला दुवैमा बुधबार स्वर्ण जितेको छ। मोरङको टंकीसुनवारी भएको पुरुष फाइनलमा आर्मीले मध्यमाञ्चललाई ४७–३० ले पराजित गर्यो। पश्चिमाञ्चल र एपीएफ क्लब संयुक्त रुपमा तेश्रो भए।
महिलाको उपाधि भिडन्तमा आर्मीले प्रहरीलाई २४–२२ को झीनो अन्तरले हरायो। सुदूरपश्चिमाञ्चल र मध्यमाञ्चलले कास्य जिते।
पुस ९ गतेदेखि सुरु कबड्डीको पुरुषमा ५ क्षेत्र, आर्मी र एपीएफ गरी ७ टिम सहभागी थिए। महिलामा ५ क्षेत्र, आर्मी, प्रहरी र एपीएफ गरी ८ वटै टिमले सहभागिता जनाएका थिए।
बास्केटबल : आर्मीलाई पुरुष बास्केटबल उपाधि
पुरुष बास्केटबलको उपाधि आर्मीले बुधबार जितेको छ। धरानको डिपोट स्कुलमा भएको फाइनलमा आर्मीले मध्यमाञ्चललाई ८३–७० ले पराजित गर्यो
पहिलो क्वाटरमा २४–१६ को अग्रता लिएको आर्मी दोश्रो क्वाटरमा १९–२२ ले पछि पर्यो। आर्मीले तेश्रोमा २०–१५ र चौथोमा २०–१७ को अग्रता बनाउदै स्वर्ण जितेको हो।
तेश्रो स्थानका लागि भएको खेलमा पश्चिमाञ्चलले पूर्वाञ्चललाई ८२–७४ ले हरायो। पुरुषमा पाँच विकास क्षेत्र र आर्मी गरी ६ टिम सहभागी थिए।
पाँचदिन सञ्चालन भएको बास्केटबलको महिलातर्फ मध्यमाञ्चल च्याम्पियन बनेको थियो। महिलामा ४ क्षेत्र र आर्मी गरी ५ टिमले भाग लिएका थिए।