- विक्रम गिरी
पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा रजत पदकमा चित्त बुझाए पनि त्यसपछिको छैटौं र सातौँ राष्ट्रिय खेलमा सुनिताले लगातार स्वर्ण पदक जित्दै आएकी छिन्। कञ्चनपुरको भीमदत्त नगरपालिका– १८ भगतपुरका उनले स्वर्ण पदक सहजै जितेकी भने होइनन्।
कञ्चनपुरकै पहिलो जुडो खेलाडी सुनिताले जुडो खेल्न थालेको ६ वर्षमा पाँच स्वर्ण र एउटा रजत पदक जितिसकिन्।
जुडो खेलेदेखि उनले त्यसमा प्रशिक्षण पनि दिँदै आएकी छिन्। 'म आफैँ प्रशिक्षक आफैँ खेलाडी हु,' स्वर्ण पदक जितेपछि झापाको धुलाबारीमा उनले भनिन्। 'प्रतियोगितामा जति खेलाडीसँग भिडेँ साँझ बिहान घरमा उनीहरुकै सिको गरेर जुडोको अभ्यास गर्ने गरेको थिएँ,' उनले बताइन्। सुनिताले २०६५ सालदेखि आफैँले आफूलाई प्रशिक्षित पार्दै आएकी छिन्।
त्यति बेला जुडोको एक्लो खेलाडीका रुपमा रहेका उनले अहिले १० खेलाडी तयार पारिसकेका छन्। २०६८ फागुनमा सुदूरपश्चिममा आयोजना गरिएको छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुनितासँगै आशिष ओझाले कञ्चनपुरबाट सहभागिता जनाएका थिए।
सो प्रतियोगितामा दुवैले स्वर्ण पदक जितेका थिए। अहिले पूर्वाञ्चलमा सातौँ राष्ट्रिय प्रतियोगितामा उनले उत्पादन गरेका सात खेलाडी छन्।
चार कक्षामा पढ्दै कराँते
सुरुवातमा सुनिता कराँते खेल्थिन्। चार कक्षा पढ्दादेखि उनी कराँतेमा होमिएकी हुन्। तर पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कराँतेको क्षेत्रीय छनोट प्रतियोगिताबाटै बाहिरिएपछि उनको मन कुँडियो। सँगैका साथि राष्ट्रिय प्रतियोगिताको तयारीमा जुटे। तर सुनिता पीडा खप्न नसकेर घरमै बसिन्।'निराश भएर घरमै बसेकी थिएँ, साथीले जुडोको छनोटका लागि भाग लिन सल्लाह दिनुभयो,' उनले विगत सम्झिदै भनिन्, 'नाम मात्र सुनेको खेलको छनोटमा कसरी सहभागी हुने, सम्झिनै सकिन, तर साथीको करकापले छनोटमा सहभागी भएँ।'
तेक्वान्दो खेलाडी निर्मला चौधरीले ख्याल ख्यालमै दिएको सल्लाहकै कारण सुनिता अहिले जुडो खेलाडीको रुपमा स्थापित भइसकेकी छिन्। निर्मलाले सुनितालाई कञ्चनपुरको खुल्लामञ्चमा जुडोका प्रशिक्षक हरि श्रेष्ठलाई भेटाइदिइन्। यो पाँचौँ राष्ट्रिय प्रतियोगिता सुरु हुन १० दिनअघिको कुरा थियो। बाँकेका जुडो प्रशिक्षक श्रेष्ठ खेलाडीको खोजी गर्दै कैलालीको धनगढी हुँदै भीमदत्तनगरसम्म पुगेका थिए।
कम तौलका खेलाडी भेटाए पनि बढी तौलका खेलाडीको अभाव थियो जुडोमा। ८५ किलो तौलको हाराहारी भएकै कारण प्रशिक्षक श्रेष्ठले सुनितालाई जुडो खेल्न कर गरे।
अनि उनले सुनितालाई सोझै धनगढी लगेर जुडो सिकाउन थाल्दा पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा काठमाडौँमा भिड्ने पक्कापक्की भयो। उक्त तौल समूहमा उनी सुदूरपश्चिमको एक्लो खेलाडी बनिन्। सो क्षेत्रमा उनको प्रतिस्पर्धी कोही पनि भेटिएनन्।
पदक सफलताको कथा
'आफ्नो तौल बढी हुनु नै मेरा लागि अवसर बन्यो,' उनले भनिन्, 'दुई दिनसम्म जुडो खेलबारे बुझ्नै समय लाग्यो। बाँकी आठ दिनको अभ्यासका भरमा प्रतिस्पर्धाका लागि काठमाडौँतर्फ लागेँ र सो प्रतियोगितामा रजत पदक जित्न सकेँ त्यसयता हरेक प्रतियोगितामा स्वर्ण पदक जित्दै आएकी छु।'पाँच वर्षअघि सुदूरपश्चिममै सम्पन्न छैटौं राष्ट्रिय प्रतियोगितामा उनले स्वर्ण पदक पाइन्। यसपालि सातौँमा समेत स्वर्ण पदकमा कब्जा जमाइन्। 'छैटौँलगत्तै काठमाडौँमा सातौं दक्षिण एसियाली जुडो च्याम्पियनशिपमा समेत स्वर्ण पदक जितेको थिएँ,' उनी खुसी साट्छिन्।
कञ्चनपुरको खुल्लामञ्चमा अभ्यासमा जाँदा उनी जुडोको एक्लो खेलाडी थिइन्। त्यसैले सुनिताले अधिकांश समय कराँते खेलाडीसँगै अभ्यास गरिन्। 'अभ्यासै नगर्दा खेल्न नसकिएला भन्ने डर,' उनले भनिन्, 'कराँतेकै अभ्यासका भरमा नै मैले २०६८ सालमा छैटौं राष्ट्रिय प्रतियोगितामा जुडोमा ७८ किलोमाथिको तौलमा स्वर्ण पदक पाएँ।'
जुडोले उनको मन लोभ्याएको छ। घरपरिवारको साथ र सहयोग पाउँदासम्म स्वर्ण पदकका लागि खेलिरहने सुनिताले प्रतिज्ञा गरेकी छिन्।
प्रशिक्षणबिना नै कुनै खेलाडीले जुनसुकै खेलमा पनि स्वर्ण पदक चुम्नु चानचुने कुरा होइन। त्यो पनि पाँच/पाँच पटक। अझ विभागीय खलाडीको दबदबा रहेको स्थितिमा मोफसलका खेलाडीले स्वर्ण पदक जित्नु दुर्लभ नै मानिन्छ। तर २३ वर्षीया सुनिताले भने उक्त चमत्कार देखाउँदै आएकी छिन्।
पाँच वर्षअघि काठमाडौँमा सम्पन्न सातौँ दक्षिण एसियाली जुडो च्याम्पियनशिपमा सुनिताले ७८ किलोमाथिको तौलमा स्वर्ण पदक जितिन्। उनले उक्त खेलमा श्रीलङ्काका खेलाडी दमयन्ती हेवा हम्बेपितियालाई इपोन (नकआउट) गरिन्। ‘वेस्ट अफ थ्री’ मा सुनिताले दुई पटक विपक्षी खेलाडीलाई नकआउट गरिन्। चार मिनेटको खेलमा उनले एक मिनेट ३६ सेकेन्डमै खेल आफ्नो पक्षमा पारिन्।
सात वर्षको उमेर हुँदा कराँते खेल्न थालेकी सुनिताले कराँतेमा ‘सेकेन्ड डन’ बेल्ट पाएकी थिइन्। तर उनी सन्तुष्ट हुन सकिनन्। 'बेल्ट पाउनु उपलब्धि होइन रहेछ, पदक जित्नु ठूलो कुरा हो,' उनले भनिन्, 'नेपालमा खेलाडीलाई आत्मसन्तुष्टी दिलाउने भनेकै पदकले हो, अरु यहाँ के नै पो छ र।' राम्रो खेलकै कारण नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्दै आएको ‘पल्सर स्पोर्ट्स अवार्ड २०७०’ अन्तर्गत उत्कृष्ट महिला खेलाडी विधाको मनोनयनमा पर्नुको साथै उक्त विधाको पुरस्कारसमेत सुनिताले पाएकी थिइन्।
आफैं गुरु आफैं चेली
सुदूरपश्चिमको नगढी र भीमदत्त नगरमा मात्र जुडो खेलिन्छ। तर त्यहाँ पनि प्रशिक्षक भने छैनन्। आफैँ गुरु, आफैँ चेला बनेर सुदूरको जुडो खेलअघि बढेको अवस्था छ। 'अहिलेसम्म प्रशिक्षणबिना नै प्रतियोगितामा भाग लिँदै आएकी छु,' उनले भनिन्। लामो समयसम्म भीमदत्त नगरमा जुडोको एक्लो खेलाडी हुनुपर्दाको सुनितालाई मनमा औधी पीडा थियो। तर अहिले उनले अरुलाई समेत जुडोमा आकर्षित गरेकी छिन्।'मैले पाएको स्वर्ण पदकको लोभ देखाएरै जुडो खेल्न अरुलाई हौस्याउने गरेको छु,' उनले सुनाइन्। मोटो शरीरकी सुनिता सानै छँदा बिरामी भइरहन्थिन्। बुबा जङ्गलाल र आमा कलावतीले कर गरेरै एक्ली छोरीलाई खेल्न प्रेरणा दिए। उनका छिमेकी देवीका सिंह कराँते खेल्थिन्। देवीकालाई देखेरै सुनिताका बा आमाले स्वास्थ्य ठिक राख्न बलजफ्ती उनलाई कराँते सिक्न कभर्ड हल पठाएका हुन्, खेलप्रतिको मोहले भने होइन।रासस