PahiloPost

Apr 11, 2025 | २८ चैत्र २०८१

​पुरुष क्रिकेट : एपीएफले आर्मीलाई हरायो, पुलिस हारेपनि समूह बी को विजेता



पहिलोपोस्ट

विराटनगर : सातौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको विभागीय डर्बीमा एपीएफले आर्मीलाई पराजित गरेको छ। समूह ए बाट यसअघि नै सेमिफाइनल पुगेपनि समूह विजेताको लागि भएको खेलमा एपीएफले आर्मीलाई २८ रनले पराजित गरेको हो। जितसँगै एपीएफ समूह ए को विजेता तथा आर्मी उपविजेता बनेको छ। 

यता समूह बी को अन्तिम खेलमा मध्यमाञ्चलसँग हारेपनि नेपाल पुलिस समूह विजेता बनेको छ। पुलिसलाई ९ रनले पराजित गरेको मध्यमाञ्चल समूह बी को उपविजेता बन्यो। 

समूह बी मा तीन खेलपछि पुलिस, मध्यमाञ्चल र पश्चिमाञ्चलको समान ४ अंक भएपनि राम्रो रन रेटका आधारमा पुलिस समूह विजेता तथा मध्यमाञ्चल उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो। समान ४ अंक नै भएपनि मध्यपश्चिम भने रन रेट कम भएका कारण समूह चरणबाटै बाहिरिएको छ।

वैजनाथपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १६५ रन बनाएको थियो। एपीएफका लागि प्रदिप ऐरी ४७, करण केसीले ४६ रन बनाए। यस्तै मोहम्मद आसिफ शेखले ३९ रन बनाए भने कप्तान पारस खड्का २० रनमा नटआउट रहे।

जवाफमा १६६ रनको लक्ष्य पछ्याएको आर्मी १७.५ ओभरमा १३७ रनमै अलआउट भयो। आर्मीका लागि सागर पुन र नरेश बुढाएरले समान ४६ रन बनाएपनि जिताउन सकेनन्। बलिङतर्फ एपीएफका भुवन कार्कीले ३ तथा बसन्त रेग्मी र करण केसीले समान २ विकेट लिए।

वैजनाथपुरमै भएको समूह ख को खेलमा मध्यमाञ्चलले पहिले ब्याटिङ गर्दै निर्धारि २० ओभरमा सबै विकेट गुमाउँदै १२० रन बनाएको थियो। मध्यमाञ्चलका लागि प्रकाश विष्टले सर्बाधिक २५ तथा ओपनर हरिशंकर शाहले २२ रनको योगदान गरे। बलिङतर्फ पुलिसका ललित भण्डारीले ३ तथा कुशल भुर्तेल र मन्जित श्रेष्ठले समान २ विकेट लिए।

जवाफमा १२१ रनको लक्ष्य पछ्याएको पुलिस २ बल बाँकी छँदै १११ रनमा अलआउट भयो। पुलिसका लागि सुनिल धमलाले ४४ तथा योगेन्दैसिंह कार्कीले २० रन बनाएपनि जितका लागि पर्याप्त रहेन।

पुलिसलाई अलआउट गर्दै मध्यमाञ्चललाई सेमिफाइनलमा पुर्याउन बलिङमा हरिशंकर शाहले २ विकेट लिए। पुलिसका ३ खेलाडी रनआउट भए।
अब सेमिफाइनलमा समूह ए को विजेता एपीएफ र समूह बी को उपविजेता मध्यमाञ्चल तथा समूह बी को विजेता पुलिस र समूह ए को उपविजेता आर्मी बीच प्रतिस्पिर्धा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell