
चन्द्रगढी : झापाको चन्द्रगढीस्थित मेची रंगशालामा सञ्चालन भइरहेको सातौं राष्ट्रिय खेलकुद अन्तर्गत बक्सिङ खेलमा बुधबार नेपाली सेनाले ५ स्वर्ण पदक जित्न सफल भएको छ। त्यसैगरी ३ स्वर्ण जित्दै सशस्त्र प्रहरीको एपीएफ क्लबले सेनालाई पछ्याइरहँदा मध्यमाञ्चलले एक स्वर्ण जितेको छ।
महिला लाइट फ्लाइवेट ४६–४८ केजी तौल समूहमा आर्मीकी ललिता महर्जनले सशस्त्रकी दिवाना शेर्मालाई अंकका आधारमा पराजित गर्दै बक्सिङको पहिलो स्वर्ण पदक जितिन्। प्रतिस्पर्धात्मक खेलमा ललिताले उत्कृष्ट लयमा रहँदै स्वर्ण पदक जित्न सफल भइन्। त्यसैगरी महिलाकै फ्लाइवेट ४८–५१ केजी तौल समूहमा एपीएफकी माला राईले स्वर्ण जितिन्। उनले आर्मीकी गीता थापा मगरलाई अंकका आधारमा पराजित गरिन्।
महिलाकै वेन्टम ५१–५४ केजी तौल समूहमा सेनाकी विमला श्रेष्ठ स्वर्ण जित्न सफल भइन्। उनले सशस्त्रकी प्रमिला पाण्डेलाई अंकका आधारमा पराजित गरिन्। महिला फेदरवेट ५४–५७ केजी तौल समूहमा आर्मीकी निरु गुरुङले स्वर्ण जितिन्। फाइनलमा उनले एपीएफकी माया चौधरीलाई अंकका आधारमा पराजित गरिन्।
महिला लाइटवेट ५७–६० केजी तौल समूहमा एपीएफकी सरस्वती राना मगरले आर्मीकी सोनम राईलाई पराजित गर्दै स्वर्ण जित्न सफल भइन्। प्रतिस्पर्धात्मक खेलमा सरस्वतीले अंकका आधारमा विजयी भइन्।
त्यसैगरी पुरुष लाइट फ्लाइटवेट ४९ केजीभन्दा माथिको तौल समूहमा मध्यमाञ्चल विकास क्षेत्रका सुशील थापाले स्वर्ण जिते। उनले फाइनलमा आर्मीका सुभाष विकलाई अंकका आधारमा पराजित गरे। पुरुषकै ५२ केजी तौल समूहमा आर्मीका प्रेम चौधरीले स्वर्ण जिते। उनले एपीएफका विक्रम परियारलाई अंकका आधारमा पराजित गर्न सफल भए।
पुरुषकै ५६ केजी तौल समूहमा एपीएफका पुरन राई विजयी भए। पुरनले आर्मीका विमल रोकालाई अंकका आधारमा पराजित गरे। पुरुष लाइटवेट ६० केजी तौल समूहमा नेपाल पुलिसका दिनेश श्रेष्ठले स्वर्ण पदक जिते। एपीएफका दिनेश चन्द घाइते भएर खेल त्यागेपछि श्रेष्ठले वाकओभरका आधारमा स्वर्ण पदक जितेका हुन्।
पुरुषकै लाइट वेल्टर ६४ केजी तौल समूहमा आर्मीका दीपक श्रेष्ठले विजय हासिल गरे। उनले प्रतिस्पर्धात्मक खेलमा नेपाल प्रहरीका भूपेन्द्र थापालाई अंकका आधारमा पराजित गरे। भोलि महिलाको चार बाउट र पुरुषको ६९, ७५, ८१, ९१ र ९१ केजीभन्दा माथिको तौल समूहमा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ।