चौथो महिला साफ च्याम्पियनसिप अन्तर्गत अहिले नेपालले समूह चरणको दोस्रो खेलमा माल्दिभ्ससँग खेलिरहेको छ। भारतको सिलगुरीस्थित कञ्चनजंगा स्टेडियममा भइरहेको खेलमा नेपालको लागि सावित्रा भण्डारीले ह्याट्रिक गरिसकेकी छिन्।
उनको ह्याट्रिकसँगै नेपालले पहिलो हाफमा माल्दिभ्सविरुद्ध ३-० को अग्रता बनाएको छ। सावित्राको यो दोस्रो ह्याट्रिक हो। समूह चरणको पहिलो खेलमा पनि सावित्राले भुटान विरुद्ध ह्याट्रिकसहित ५ गोल गरेकी थिइन्।
माल्दिभ्स विरुद्ध १२ औं मिनेटमा सावित्राले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्। २८ औं मिनेटमा दीपा राईको पासमा दोस्रो गोल गरेकी सावित्राले ३९ औं मिनेटमा ह्याट्रिक पुरा गरेकी हुन्। अनिता बस्नेतले प्रहार गरेको बल माल्दिभ्सकी गोलरक्षकको पुरै क्लियर गर्न नसक्दा सावित्राले गोल गरेकी हुन्।
पहिलो खेलमा नेपालले भुटानलाई ८-० ले पराजित गरेको थियो भने माल्दिभ्सले श्रीलंकालाई ५-३ ले हराएको थियो।