
काठमाडौं : चौथो महिला साफ च्याम्पियनसिप अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ९-० को फराकिलो अन्तरले पराजित गरेको छ। लगातार दोस्रो जितसँगै नेपाल सेमिफाइनल पुग्ने पक्का भएको छ। समूह अन्तिम खेलमा श्रीलंकालाई हराए नेपाल समूह विजेता बन्नेछ।
फरवार्ड सावित्रा भण्डारीले लगातार दोस्रो खेलमा पनि ह्याट्रिक गरेपछि नेपाल सहजै जित हात पार्न सफल भयो। भारतको सिलगुरीस्थित कञ्चनजंगा स्टेडियममा भएको खेलमा नेपालको लागि सावित्रा भण्डारीले ह्याट्रिकसहित ५ गोल गरिन्।
समूह चरणको पहिलो खेलमा भुटान विरुद्ध पनि ह्याट्रिकसहित ५ गोल गरेकी सावित्रा जारी च्याम्पियनसिपमा सर्बाधिक १० गोल गर्दै सर्बाधि गोलकर्ताकोको सूचीमा अगाडी छिन्।
माल्दिभ्स विरुद्ध १२ औं मिनेटमा सावित्राले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्। २८ औं मिनेटमा दीपा राईको पासमा दोस्रो गोल गरेकी सावित्राले ३९ औं मिनेटमा ह्याट्रिक पुरा गरेकी हुन्। सावित्राले दोस्रो हाफमा ५० औं र ६३ औं मिनेटमा गोल गरिन्।
त्यसबाहेक मन्जली कुमारी योन्जले ५२ औं, सपना लामाले ७१ औं, हिरा कुमारी भुजेलले ७४ औं र निर्मला विकले इन्जुरी टाइममा गोल गरिन्।
सपना लामा ६५ औं मिनेटमा अनिता बस्नेतको स्थानमा मैदान प्रवेश गरेकी थिइन्।
नेपालले अब समूह चरणको अन्तिम खेलमा शुक्रबार श्रीलंकासँग खेल्नेछ। समूह ए अन्तर्गत आजै भएको खेलमा श्रीलंकाले भुटानलाई पराजित गरेको छ।