PahiloPost

Apr 11, 2025 | २८ चैत्र २०८१

ब्याडमिन्टनमा आर्मीको वर्चस्व, रत्नजितलाई ३ स्वर्ण



पहिलोपोस्ट

ब्याडमिन्टनमा आर्मीको वर्चस्व, रत्नजितलाई ३ स्वर्ण

नेपाल आर्मी क्लबले सातौं राष्ट्रिय खेलकुद अन्तरगत ब्याडमिन्टनमा आफ्नो वर्चस्व कायम राख्दा रत्नजित तामाङ एक्लैले तीन फरक विधामा स्वर्ण जितेका छन्। उनले पुरुष एकल, पुरुष डबल्स र मिक्स डबल्समा स्वर्ण जितेका हुन्।

आर्मीका रत्नजित तामाङ्गले पुरुष एकलतर्फको खेलमा आफ्नै क्लबका दिपेश धामीलाई २१–१९, २१–११ सोझो सेटमा पराजित गर्दै स्वर्ण हात पारे। सुदूरपश्चिमका संजीव खड्का र नेपाल प्रहरीका बिष्णु कटुवालले कास्य पदक जिते।

काकरभिट्टास्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला एकलतर्फ आर्मीकी नङ्गशल तामाङ्गले एपिएफकी शिक्षा श्रेष्ठमाथी १७–२१, २१–१२, २१–१० को जित निकाल्दै स्वर्ण प्राप्त गरिन्। आर्मीका अनुमाया राई र अमिता गिरीले कास्य पाए।

पुरुष डबल्समा पनि आर्मीले नै स्वर्ण जित्यो। आर्मीका रन्तजित तामाङ्ग र नविन श्रेष्ठको जोडीले आर्मीकै दिपेश धामी र सुरोज महर्जनको जोडीलाई २१–१९, १६–२१ र २१–१६ को तीन सेटमा पराजित गर्दै स्वर्ण कब्जा गरे। पुलिसका बिष्णु कटुवाल र दीपक बोहराको जोडी तथा एपिएफका जोसेफ अधिकारी र सुमन लिम्बुको जोडीले कास्य हात पारे।

महिला डबल्सतर्फको खेलमा एपीएफकी पुजा श्रेष्ठ र शिक्षा श्रेष्ठको जोडीले आर्मीका मेघा चन्द र अनुमाया राईको जोडीलाई २१–१५, २१–८ को सोझे सेटमा पाखा लगाउंदै स्वर्ण हात पार्दा चन्द र राईको जोडीले रजत पाए। आर्मीका जेसिका गुरुङ्ग र सुनैना मुखिया तथा नङ्गशल तामाङ्ग र अमिता गिरीको जोडीले कास्य पदक पाए ।

मिक्स डबल्सतर्फको खेलमा पनि आर्मीका दीदी भाईको जोडीले नै स्वर्ण जिते। दीदी भाई नङ्गशल र रत्नजितको जोडीले एपीएफका शिक्षा श्रेष्ठ र सुदीप सेंढाईको जोडी माथी २१–११, २१–१० को जित हात पारे। एपिएफका शोभा गोचन र विजित थापा मगर तथा अनुमाया राई र नविन श्रेष्ठको जोडीले कास्य हात पारे।

फेन्सिङमा आर्मीकी इन्द्रिरालाई स्वर्ण
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बुधबारबाट काठमाडौंमा शुरु भएको दोस्रो फेन्सिङ च्याम्पियनसिपको महिला इपी व्यक्तिगत प्रतिस्पर्धामा आर्मीकी इन्द्रिरा पौडेल स्वर्ण जितेकी छिन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भड हलमा भएको प्रतियोगितामा आर्मीकै अन्जना श्रेष्ठले रजत पदक जितिन् भने पश्चिमाञ्चलकी राखी शर्मा र आर्मीकी रविना धिमालले कास्य पदक जिते।

बुधबार नै भएको पुरुष इपी व्यक्तिगत प्रतिस्पर्धामा एपीएफका जंग गिरीले स्वर्ण पदक जिते। एपिएफकै राजेन्द्र श्रेष्ठले रजत पदक जिते भने मध्यमाञ्चलका सुधिराज याखा र ओमकार सिंहले कास्य पदक जिते। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell