PahiloPost

Apr 18, 2025 | ५ बैशाख २०८२

​विद्युत प्राधिकरण चितवनले झण्डै एक करोड बक्यौता उठायो



पहिलोपोस्ट

चितवन : नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा रु ९७ लाख २५ हजार ६४७ बक्यौता रकम उठाएको छ। 

कार्यालयले लामो समयदेखि महसुल नबुझाउनेको ग्राहकको लाइन काट्न थालेपछि बक्यौता रकम असुली गरेको हो । लाइन काटिएका ग्राहकमध्ये ५०६ जना ग्राहकले बक्यौता रकम बुझाएको कार्यालयले जनाएको छ। 

कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार कार्यालयले पछिल्लो समयमा सरकारी कार्यालयप्रति पनि बक्यौता उठाउनका लागि लाइन काट्न थालेको छ । जसमध्ये कार्यालयले अहिलेसम्म जिल्ला शिक्षा कार्यालय, जिल्ला अदालत, जिल्ला जनस्वास्थ्य कार्यालय, डिभिजन सडक कार्यालयको निवास, नापी कार्यालयलगायतको लाइन काटेर बक्यौता असुल गरेको छ । अन्य बक्यौता रकम बढी रहेका कार्यालयको पनि लाइन काट्ने प्रक्रिया भइरहेको उनले बताए। 

कार्यालयको सडक बत्तीसहित रु २६ करोड बराबरको बक्यौता रकम रहेको छ । जसमध्ये रु नौ करोड ग्राहकको रहेको छ । ग्राहकमध्ये सबैभन्दा धेरै एसके इलेक्ट्रिकको रु तीन लाख ५१ हजार ४६१, सुलभ प्लास्ट्रिकको रु दुई लाख ७९ हजार ५४९ र चितवन कोल्ड स्टोरको रु दुई लाख ६३ हजार २९७ रहेको कार्यालयले जनाएको छ। 

लामो समयसम्म बक्यौता नतिर्ने चार सय ३५ ग्राहकलाई वितरण केन्द्रले कालोसूचीका लागि क्षेत्रीय कार्यालयमा पठाउने तयारी थालेको इन्जिनियर पौडेलले बताए । उनका अनुसार विद्युत माग गर्ने ग्राहकको चाप पनि कार्यालयमा बढी रहेको छ । मंसिर महिनामा मात्रै विद्युत्को माग गर्दै एक हजार १०५ जनाले निवेदन दिएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell