
काठमाडौं : वरिष्ठ लेखक एवं नेपाली भाषा साहित्यसेवी कमलमणि दीक्षितको ८७ वर्षको उमेरमा आज बिहान निधन भएको छ।
ललितपुरको बीएन्डबी अस्पतालमा उपचारका क्रममा बिहान २:४५ बजे उनको निधन भएको हो। फोक्सोको क्यान्सरबाट पीडित उनलाई अस्पताल भर्ना गरिएको थियो। १९८६ भदौ कुशे औंशीमा काठमाडौंको गैरीधारामा जन्मिएका उनका आफ्ना सिर्जना र सम्पादित पुस्तक गरी ७५ भन्दा बढी कृति प्रकाशित छन्। उनी मदन पुरस्कार गुठी र मदन पुरस्कार पुस्तकालयका संस्थापक तथा अध्यक्ष पनि हुन्।
दीक्षितको सक्रियतामा २०१२ सालमा मदन पुरस्कार गुठी र मदन पुरस्कार पुस्तकालयको स्थापना भएको थियो। उनी मदन मेमोरियल स्कुल, साझा प्रकाशन, गोरखापत्र संस्थान, रोटरी क्लब,जनक (जानकी सभा, बिपी कोइराला संग्रहालय समिति, बिपी कोइराला नेपाल-भारत प्रतिष्ठान जस्ता दर्जनौं भाषिक, साहित्यिक, सांस्कृतिक संस्थाहरूमा सक्रिय थिए।
उनको आजै बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।