PahiloPost

Apr 18, 2025 | ५ बैशाख २०८२

सातौ राष्ट्रिय खेलकुद : भारोत्तोलनमा बन्यो १४ नयाँ राष्ट्रिय कीर्तिमान



पहिलोपोस्ट

सप्तरी : सातौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष तथा महिला भारोत्तोलन प्रतियोगिता कूल १४ वटा नयाँ कीर्तिमान कायम गर्दै बुधबार सम्पन्न भएको छ। सप्तरीको सदरमुकाम राजविराजको कबर्डहलमा आयोजित प्रतियोगिताको अन्तिम दिन पनि नयाँ कीर्तिमा कायम भयो। नेपाल आर्मीका पुकार गुरुङले कीर्तिमान थपे।

पुकार कीर्तिमानी स्वर्ण जितेसँगै नेपाल आर्मी ६ स्वर्ण, ८ रजत र १ कास्यसहित १५ पदक जितेर पहिलो भएको छ भने नेपाल पुलिस ६ स्वर्ण, ३ रजत र ३ कास्यसहित १२ पदक जितेर दोस्रो भयो।

यसैगरी २ स्वर्ण, २ रजतसहित ४ पदक जितेर पूर्वाञ्चलले तेस्रो स्थान प्राप्त गरेको छ। मध्यपश्चिमाञ्चलले १ स्वर्ण र ३ कास्यसहित ४ पदक जितेर चौथो तथा १ रजत र ४ कास्य गरी ५ पदक ल्याएर सुदूरपश्चिमाञ्चलले पाचौँ स्थान हात पार्‌यो।

मध्यमाञ्चलले १ रजत र २ कास्य गरी ३ पदक तथा पश्चिमाञ्चलले २ कास्य मात्र जिते। भारोत्तोलन प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको अर्को विभागीय टोली सशस्त्र प्रहरी बलकँ एपीएफले भने कुनै पनि पदक ल्याउन सकेन।

प्रतियोगिताका क्रममा विभिन्न तौल समूहमा गरी १४ वटा नयाँ कीर्तिमान कायम भएको भारत्तोलन सङ्घका केन्द्रीय सचिव तिलकबहादुर राउतले जानकारी दिए।

प्रतियोगिताको अन्तिम दिन सम्पन्न पुरुषतर्फ १०५ केजी तौल समूहमा नेपाल पुलिसका गगन चन्दले २१४ केजी भार उठाएर स्वर्ण पदक जितेका छन्। सो तौल समूहमा नेपाल पुलिसकै विपेन्द्र महर्जनले २१३ केजी उठाएर रजत तथा मध्यमाञ्चलका मो.अस्ताकि हुसैनले १९७ केजी उचालेर कास्य पदक जितेका छन्।
 
नयाँ कीर्तिमान कायम गर्ने क्रममा पुरुषतर्फको प्लस १०५ केजी तौल समूहमा आर्मीका पुकार गुरुङले २५९ केजी तौल उचालेर स्वर्ण पदक प्राप्त गरेका छन्। उनले स्नयाचतर्फ १२४ केजी भार उचालेर आप्नै नाममा रहेको कीर्तिमान सुधार गरे। सन् २०१५ मा सम्पन्न एसियन च्याम्पियनसिपमा स्न्याचतर्फ १२३ केजी उचालेर पुकारले रेकर्ड बनाएका थिए।

पुकारले स्न्याचतर्फ १२४, क्लिन एन्ड जर्कतर्फ १३५ केजी उठाएका थिए। सोही तौल समूहमा मध्यमाञ्चलका राजीव महर्जनले २०३ केजी उचालेर रजत तथा सुदूरपश्चिमाञ्चलका सुभाष उपाध्यायले २०० केजी उचालेर कास्य पदक प्राप्त गरेका छन्।
 
यसअघि अइतबार पुलिसकी देवी चौधरीले महिला ५३ केजीमा स्न्याच क्लिन एण्ड जर्क र जम्मामा कीर्तिमान रचेकी थिइन्। देवीले स्न्याचमा ६० र क्लिन एन्ड जर्कमा ७८ गरी कूल १३८ केजी भार वहन गर्दै राष्ट्रिय कीर्तिमान रचेकी हुन् । यसअघि देवीकै नाममा स्न्याचमा ५८, क्लिन एन्ड जर्कमा ७७ र जम्मा १३५ केजीको कीर्तिमान थियो

सोमबार आर्मीकी कमला श्रेष्ठले महिला ५८ केजीको स्न्याच, क्लिन एण्ड जर्क र जम्मामा राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन्। सोमबारै आर्मीका कमलबहादुर अधिकारीले पुरुष ८५ केजीको क्लिन एण्ड जर्कमा राष्ट्रिय किर्तिमान बनाएका थिए। कमलाले स्न्याचमा ६६ केजी र क्लिन एन्ड जर्कमा ७९ केजी गरी जम्मा १४५ केजी भार वहन गर्दै तीनै स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान स्थापित गरिन्। स्न्याचमा कमलाले झन्ट कट्वालले २०६२ सालमा ललितपुरको लुभूमा भएको दोश्रो राष्ट्रिय महिला भारोत्तोलनमा बनाएको ६५ केजीको कीर्तिमान भंग गरिन्। त्यस्तै कुलमा पनि कमलाले दोश्रो राष्ट्रियमै झन्टले नै बनाएको १४२ केजीको कीर्तिमान तोडिन्। क्लिन एन्ड जर्कमा भने कमलाले २०६८ सालमा उत्तम खत्रीले वीरगन्जमा भएको प्रथम शालिमार भारोत्तोलनमा बनाएको ७८ केजीको कीर्तिमान भंग गरेकी हुन्।

१० औं सागका स्वर्णधारी कमलले क्लिन एन्ड जर्कमा १५५ केजी भार वहन गर्दै श्रीलंकामा भएको १० औं दक्षिण एसियाली खेलकुद सागमा ज्ञानबहादुर श्रेष्ठले बनाएको १५४ केजीको कीर्तिमान भंग गरे। उनले स्न्याचमा १०५ केजीसहित कुल २६० केजी भार उचाले।
 
यस्तै मंगलबार पुरुष ९४ केजीमा आर्मीका दिनेश श्रेष्ठ र महिलातर्फ ७५ केजीमा पुलिसकी तारादेवी पुनले ३/३ कीर्तिमान बनाएका थिए। दुवै खेलाडीले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेका हुन्।

दिनेशले स्न्याचमा ११८, क्लियन एण्ड जर्कमा १५० गरी कूल २६८ केजीको भार बहन गर्दै १२ औं साफमा आफैँले बनाएको कीर्तिमान तोडेका हुन्। यसअघि उनले स्न्याचमा ११७, क्लियन एण्ड जर्कमा १४७ गरी कूल २६४ केजीको भार बहन गर्दै रेकर्ड राखेका थिए।

तारादेवीले स्नयाच ९६ र क्लिन एण्ड जर्कमा ७१ गरी कूल १६७ केजीको भार बहन गर्दै यसअघि स्नयाच ९५ र क्लिन एण्ड जर्कमा ७० गरी कूल १६५ केजीको रेकर्ड तोडेका हुन्।

चार दिनसम्म सञ्चालन भएको भारोत्तोलन प्रतियोगितामा पाँच विकास क्षेत्रसहित ३ विभागीय टोली आर्मी, पुलिस र एपीएफ गरी कूल सय भन्दा बढी खेलाडीले विभिन्न १५ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए। पुरुषतर्फ ८ र महिलातर्फ ७ स्पर्धा समावेश गरिएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell