काठमाडौं : अभिनेत्री श्वेता खड्काले 'घर आँगन' नामक संस्थको भवन निर्माणका लागि आर्थिक सहयोग गरेकी छिन्।
अभिनेता श्रीकृष्ण श्रेष्ठको जन्मजयन्तीको अवसरमा उनले आज अनाथ तथा असहाय बालबालिकालाई आश्रय दिँदै आएको संस्थालाई एक लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरिन्।
काठमाडौंको राइजिङ मलमा रहेको आफ्नै हिमालयन जाभामा कार्यक्रम आयोजना गरी उनले संस्थाका सञ्चालक दीपक सिलवाललाई सहयोग प्रदान गरेकी हुन्। 'यो सहयोग उहाँ (श्रीमान् श्रीकृष्ण) को उपहार हो। उहाँ आज हामीसँगै हुनुभएको भए पनि जन्मदिनको अवसरमा कतै कुनै आवश्यक सहयोग गर्नुहुन्थ्यो,' श्वेताले सहयोगपछि भनिन्।
उनले आफ्नो मनको शान्तिका लागि सो रकम दिएको बताइन्। 'धन सबैसँग छ, सबैले राम्रो लगाएकै छौं, मिठो खाएकै छौं। तर नपाउनेलाई दिन मन चाहिन्छ', आफूले आजसम्म धन र मन दुवै पाएको बताउँदै भन्छिन्, 'मलाई सधैं अरुको सेवा गर्न पुगोस्।'
यो सुरुवाती सहयोग भएको भन्दै संस्थाका सञ्चालक सिलवालले यही रकमले लिजमा लिएको जग्गामा भवन निर्माणका लागि जग हाल्ने बताए। संस्थामा २० बालबालिका बस्दै आएका छन्।
कार्यक्रममा उपस्थित कलाकार दिपाश्री निरौलाले आफू पनि संस्थालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन्। 'जग खन्न श्वेताले सहयोग गर्नुभयो। हामी सबै मिलेर संस्थाको भवनको छतसम्म हाल्नेछौं,' उत्साहित हुँदै उनले भनिन्।