
काठमाडौं : गायक दीपक बज्राचार्यले आफ्ना दुई नयाँ गीतका म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
बिहीबार बज्राचार्यको स्वर रहेका ‘अल्लारे’ र ‘सानी’ गीतका म्युजिक भिडियो सार्वजनिक गरिएको हो।
सञ्चारकर्मी सुव्रत आचार्यद्वारा निर्देशित अल्लारे र निकेश खड्काले निर्देशन गरेको सानी दुवैमा रिक्की शाक्यको शब्द छ। बज्राचार्यकै सांगीतिक समूह रिदमले गीतलाई संगीतबद्ध गरेको हो।
काली काली हिस्सी परेकी, ओ अमिरा, मायाको डोरीले, फर्केर आउने छैन जस्ता लोकप्रिय गीत गाएका बज्राचार्य केही वर्षयता नेपाली पप संगीतमा परम्परागत तथा पौराणिक बाजाको फ्युजन गर्न थालेका छन्। आज सार्वजनिक भएका गीतहरुमा पनि गायक स्वयंको संयोजन छ । ती गीतलाई लोकलयमा ढाल्ने कोसिस गरिएको छ। 'नौलो स्वाद पस्किन तल्लिन छु। मेरो प्रयास स्रोताले रुचाउने आशा छ,' उनले भने।
नेपाली संस्कृति अनुसार भजन तथा पूजाआजा गर्ने क्रममा बजाइने पौराणिक तथा परम्परागत वाद्ययन्त्रहरुलाई आफ्ना गीतमा समायोजन गर्ने आफ्नो योजनाले सार्थक रुप पाउँदै गरेको उनको भनाइ छ।
केही वर्षयता उनी धिमे, खैंजडीसहित नेपालका उपलब्ध हरेक प्रकारका पुराना तथा लोप हुन लागेका बाजाहरुको प्रयोग तथा संरक्षणमा पनि लागेका छन्।
अल्लारेको भिडियो