PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

मिर्गौला तस्करीमा नयाँ गिरोह : मूल्य ३ लाख २० हजार



केपी ढुंगाना

मिर्गौला तस्करीमा नयाँ गिरोह : मूल्य ३ लाख २० हजार

काठमाडौं : पैसाको प्रलोभनमा मिर्गौला बेच्न तयार हुने व्यक्ति पाउन छाडेपछि नेपालमा सक्रिय दलालले झुक्याएर भारत पुर्‍याई मिर्गौला बेच्ने गरेको खुलेको छ।
 
एक–डेढ लाखको लोभमा मिर्गौला बेच्ने मान्छे भेट्न गाह्रो भएपछि मिर्गौला तस्करीमा सक्रिय समूहले रोजगारको प्रलोभनमा पारी भारत पुर्‍याउने र पत्तै नदिई उतै मिर्गौला झिकेर बेचिदिने र केही पैसा दिएर नेपाल फर्काउने गरेको खुलेको हो।
 
यसअघि दलालहरु काभ्रेको होक्से, नुवाकोट, सिन्धुपाल्चोक लगायतमा जिल्लामा गएर 'केही हुन्न' भन्दै पैसाको प्रलोभनमा पारेर भारत लगेर मिर्गौला बिक्री गराउँदै आएका थिए। प्रहरीले त्यस्तो गिरोहका अधिकांश सदस्यलाई पक्राउ गरेपछि भारत लगेर मिर्गौला बिक्री गर्ने क्रम घटेको थियो।
 
तस्कर निस्क्रिय भएको भन्दै प्रहरीको ध्यान अन्य अपराधमा केन्द्रित भयो। तर तस्करी घटेको थिएन। शैली मात्रै फेरिएको थियो। तस्करीमा संलग्न समूहले पहिला मोलमोलाई गरेर मिर्गौला बिक्री गराउँथे, पछि प्रहरीको आँखा छल्न जागिरको प्रलोभनमा पारेर भारत पुर्‍याई झुक्याएर बेच्न थाले।
 
महानगरीय प्रहरी अपराध महाशाखाले बिहीबार यस्तै एक गिरोहका तीन सदस्यलाई सार्वजनिक गर्‍यो, जसले पाँच जना नेपालीलाई जागिरको प्रलोभनमा पारेर भारत पुर्‍याएर झुक्याई मिर्गोला बेचिदिए।
 
ती थिए, विकास भन्ने बिनुबहादुर तिमल्सिना, प्रकाश बस्नेत र भीमप्रसाद न्यौपाने। महाशाखाका एसएसपी सर्वेन्द्र खनालका अनुसार उनीहरुले अहिलेसम्म पाँच जनालाई भारत पुर्‍याएर मिर्गौला बेचिसकेका छन्। जसमध्ये एक पीडित १९ वर्षका दीपक नेपाली मात्रै प्रहरीको सम्पर्कमा आएका छन्।
 

यसरी बेच्थे मिर्गौला

मिर्गौला तस्करीका संलग्न देखिएको समूह नयाँ हो। प्रहरीका अनुसार सो समूहमा पाँच जना सदस्य छन्। तीन जना पक्राउ परे पनि दुई अझै फरार छन्।
 
प्रहरीका अनुसार तिमल्सिना र न्यौपाने देशका विभिन्न ठाउँमा घुमेर जागिर लगाइदिने भन्दै फकाउँथे। र, विभिन्न उमेरका व्यक्तिलाई काठमाडौं ल्याउँथे। यसरी ल्याइएका व्यक्तिलाई उनीहरुले बस्नेतलाई जिम्मा लगाउँथे।
 
यसरी आएका व्यक्ति स्वस्थ छन् छैनन् जाँच गर्नुपर्ने भन्दै बस्नेतले स्वास्थ्य परीक्षण गराउँथे। भारतमा खोजी भइरहेको मिर्गोलाको बिरामीसँग मिल्छ, मिल्दैन त्यसको पनि चासो राख्थे। प्रहरीका अनुसार खोजे अनुसारको ब्लड ग्रुप मिलेपछि भारतमा काम गर्न जानुपर्ने भन्दै ती व्यक्तिलाई भारत लैजान्थे।
 
एसएसपी खनालका अनुसार भारत लगेपछि खानेकुरामा बेहोस हुने पदार्थ मिसाइदिन्थे र अस्पताल पुर्‍याई मिर्गौला झिकिदिन्थे। ती तस्करले एउटा मिर्गौला बराबर नेपाली रुपैयाँ ३ लाख २० हजारसम्म पाउँथे। जो व्यक्तिको मिर्गौला झिकिन्थ्यो उसले चालै पाउँदैनथ्यो। एक्कासि अस्पतालको बेडमा होस आएपछि कसैलाई गुन्डाले चक्कुले हिर्काएको बहाना बनाउँथे त कसैलाई लडेर घाइते भएको भनेर विश्वासमा पार्थे।
 
प्रहरीका अनुसार मिर्गौला झिक्दा बनेको घाउ निको भएपछि बाटो खर्च भन्दै केही पैसा दिएर नेपाल फर्काउँथे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell