
विराटनगर : एपीएफ र नेपाल आर्मी पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको स्वर्णका लागि भिड्ने भएका छन्। बिहिबार सम्पन्न सेमिफाइनलमा एपीएफ मध्यमाञ्चलाई र आर्मी नेपाल पुलिसलई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन्।
एपीएफ र आर्मी दुवै समूह ए को विजेता र उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेका थिए। यस्तै कास्य पदकका लागि पुलिस र मध्यमाञ्चलबीच प्रतिस्पर्धा हुनेछ। फाइनल र तेस्रो स्थानको लागि हुने दुवै खेल शुक्रबार हुनेछ।
वैजनाथपुर मैदानमा भएको पहिलो सेमिफाइनलमा पारस खड्काको कप्तानीमा रहेको एपीएफले मध्यमाञ्चललाई ८ विकेटले हरायो। मध्यमाञ्चलले दिएको ६२ रनको सामान्य लक्ष्य एपीएफले ९.३ ओभरमा २ विकेट गुमाएर भेट्टायो। एपीएफको लागि प्रदिप ऐरीले नटआउट ३३ रन बनाए। पृथु बास्कोटा ९ रनमा नटआउट रहे। यसअघि ओपनरद्वय सुवास खकुरेल २ तथा मोहम्मद आसिफ शेख ८ रनमा आउट भएका थिए। दुवै विकेट मध्यमाञ्चलका रसिद खानले लिए।
टस जितेर पहिले ब्याटिङ गरेको मधयमाञ्चल १७.५ ओभरमा ६१ रनमा अलआउट भएको थियो। मध्यमाञ्चलका लागि ओपनर हरिशंकर शाहले २१ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन समेत सकेनन्। मध्यमाञ्चललाई कम स्कोरमा अलआउट गर्न एपीएफका करण केसी र बसन्त रेग्मीले समान २ विकेट लिए भने यज्ञमान कुमाल, पास खड्का, शक्ति गौचन र भुवन कार्कीले १/१ विकेट हात पारे।
दोस्रो सेमिफाइनलअन्तर्गत विभागीय भिडन्तमा आर्मीले पुलिसलाई ८ विकेटले पराजित गर्यो। टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभर खेल्दै सबै विकेट गुमाएर १४४ रन बनाएको थियो। पुलिसका लागि आरिफ शेखले ३५ तथा दिलिप नाथले ३२ रनको योगदान गरे। यस्तै सुनिल धमला र रामनरेश गिरीले समान १५ तथा दिपेन्द्र सिंह ऐरीले १० रन जोडे। अनय खेलाडीले दोहोरो अंक छुन सकेनन। बलिङमा आर्मीका सोमपाल कार्मीले ३ तथा विक्रम शोब र चन्द्र साउदले समान २ विकेट लिए।
जवाफमा १४५ रनको लक्ष्य आर्मीले १८.३ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो। आर्मीको जितमा ओपनर सागर पुन र अनिल मण्डलले अर्धशतक प्रहार गरे। सागर पुनले ४८ बलमा ७ चौका र १ छक्काको मद्वतमा ५९ रन बनाए भने अनिल मण्डल ६२ रनमा नटआउट रहे। ५४ बल खेलेका अनिलले ६ चौका प्रहार गरे। यस्तै राजु रिजाल ६ रनमा नटआउट रहे। बलिङतर्फ पुलिसका दिपेन्द्र सिंह ऐरी र मन्जित श्रेष्ठले १ १ विकेट हात पारे।