PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

मिर्गौला तस्करको फन्दामा परेका युवाको बयान- 'भगवान् जस्तै लाग्याथ्यो राक्षस रैछन्'



सविन ढकाल

मिर्गौला तस्करको फन्दामा परेका युवाको बयान- 'भगवान् जस्तै लाग्याथ्यो राक्षस रैछन्'

काठमाडौं : पाँच दिदी–बहिनी, तीन दाजुभाइ र बाबुआमा। ज्यालादारीको भरमा घर चलिरहेको थियो, चितवन भरतपुर गोलबजारका दीपक नेपालीको। घरका सबै सदस्य ज्यालादारी काम गर्थे।
 
१९ वर्षका नेपाली राम्रो जागिर पाउने आशामा असार ६ गते भरतपुरबाट हान्निए पोखरातिर। पोखरा पुगेलगत्तै एक कारखानामा काम पाए। त्यहीँ उनको परिचय भयो- अमित गुरुङसँग, जो पोखराकै थिए।
 
उनै गुरुङले 'यता के काम गर्छस्, हिँड् काठमाडौंमा राम्रो काम पाइन्छ' भनेपछि नेपालीले गुरुङलाई नै पछ्याए।
 
‘अमित दाइले काठमाडौंमा राम्रो फ्याक्ट्रीमा काम लगाइदिन्छु भनेपछि म उनको पछि लागेँ। काम पनि सजिलो हुने र पैसा पनि राम्रै हुने भन्नुभएको थियो,’ महानगरीय प्रहरी अपराध महाशाखामा बिहीबार भेटिएका नेपालीले भने।
 
काठमाडौँ आएपछि गुरुङले उनलाई काभ्रेका ४४ वर्षीय विकास भन्ने बिनुबहादुर तिमिल्सनासँग परिचय गराइदिए। उनले नेपालीलाई एउटा बालुवा फ्याक्ट्रीमा घुमाए।
 
‘भाइ फ्याट्री सबै घुमिस्। भोलिबाट काम गर्नु। अहिले हिँड् खाजा खान' भन्दै उनलाई रेष्टुरेन्टमा लगे।
 
होटेलमा पुगेर उनले मदिरा पिए।

***
जब उनको आँखा खुल्यो, उनी अँध्यारो कोठाको बेडमा थिए। यताउता हेरे। अस्पतालझैँ लाग्यो उनलाई।
 
यसो नजिकै हेरेको- तिमिल्सिना रहेछन्।
 
‘तँलाई गुन्डाले छुरी हान्यो, बचाउन अस्पताल ल्याएको,’ उनले यत्ति भने।
 
उनलाई लागेको थियो, अस्पताल काठमाडौंकै हो। तर, थिएन। काठमाडौंको होटलमा मदिरा पिएर ढलेका उनको आँखा खुलेको स्थान थियो- भारतको फरिदाबाद।
 
कसरी नेपालवाट भारत आइपुगेँ? उनलाई कुनै पत्तो थिएन। दाहिने कोखतिर दुखिरहेको थियो। यसो हेरे, टेप लगाइएको रहेछ। उनलाई लाग्यो- नेपालमा उपचार नहुने भएकाले भारत ल्याइएछन्। असल मान्छेसँग संगत हुँदा ज्यान जोगियो भन्दै उनले चित्त बुझाए।
 
‘विकास दाइले दुई महिना यतै बस, निको भएपछि नेपाल आइज भन्नुभयो। मैले हुन्छ भने,’ नेपालीले सरसर्ती विगत सम्झिए।
 
असोज ९ मा उनी भारतबाट भरतपुरमा रहेको डेरामा पुगे। भरतपुर पुगेपछि तिमिल्सना भेटिए। उनले उपचार खर्च भन्दै २८ हजार रुपैयाँ दिए।
 
भारत पनि लगेको छ, उपचार पनि गराएको छ… उल्टै पैसा!!
 
उनले लिन मानेनन्। ‘मैले किन दिएको पैसा चाहिन्न भनेँ तर विकास दाइले राख् भन्दै दिनुभयो। साह्रै असल मान्छे रहेछन् भन्ने लाग्यो,’ नेपालीले भने।
 
उनी घर फर्किएको दुई महिनासम्म केही भएन। घरमा रहँदा राम्रैसँग हिँडडुल गर्ने गरेको उनका बुबा कुमार नेपाली बताउँछन्।
 
मंसिर ३० मा उनी एक्कासि बिरामी भए। परिवारले तत्काल अस्पताल दौडाए। अस्पतालमा चिकित्सकले मिर्गौला खराबीको आशंका गर्दै जब जाँच गरे, उनको एउटा मिर्गौला नै रहेनछ। अर्को बिग्रिएछ।
 
जब यो चाल पाए, बल्ल आफू भारत पुग्नुको कारण थाहा पाए। उनलाई कुनै गुण्डाले चक्कु हानेर घाइते बनाएको होइन रहेछ, कोखमुनिको घाउ मिर्गौला निकाल्दाको चोट रहेछ।
 
अनि उनले जसलाई साह्रै असल मान्छे भनिरहेका थिए, ती त मिर्गौला तस्कर पो रहेछन्।
 
‘एउटा मिर्गौला छैन, अर्को बिग्रियो,’ जवान छोराको यो पीडाबारे बाबु भन्छन्, ‘मर्नु न बाँच्नु जस्तो भयो। अब के गरिखान्छ होला भन्ने चिन्ता लागिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell