PahiloPost

Apr 18, 2025 | ५ बैशाख २०८२

सातौं राष्ट्रिय खेलकुद : बक्सिङमा आर्मी टिम च्याम्पियन



पहिलोपोस्ट

सातौं राष्ट्रिय खेलकुद : बक्सिङमा आर्मी टिम च्याम्पियन

चन्द्रगढी : सातौं राष्ट्रिय खेलकुद अन्तर्गत झापाको चन्द्रगढीस्थित मेची रंगशालामा सञ्चालन भएको बक्सिङमा नेपाल आर्मी महिला तथा पुरुष दुवैमा च्याम्पियन बनेको छ। 

आर्मी पुरुषमा ६ स्वर्ण, ३ रजत र १ कास्य तथा महिलामा ५ स्वर्ण, २ रजत र १ कास्य जित्दै टिम च्याम्पियन बनेको हो। कूल १७ स्पर्धामा प्रतिस्पर्धा भएकोमा आर्मीले ११ स्वर्ण, ५ रजत र २ कास्य जितेको हो। बक्सिङमा पुरुषतर्फ १० र महिलातर्फ ७ स्पर्धा समावेश थियो।

बिहीबार आर्मीका विष्णुप्रसाद घले, पुनम रावल, दिपेश लामा, सिलु डंगोल, श्याम खड्काले स्वर्ण जिते। वेल्टर ६९ केजी तौल समूहमा आर्मीका
विष्णुप्रसाद घलेले एपीएफका विकास लामालाई युरोनोमसका आधारमा पराजित गरे भने पुनम रावलले लाइट वेल्टर महिला ६०–६४ केजी तौल समूहमा एपीएफकी विनिता थापा मगरलाई अंकका आधारमा पराजित गर्दै स्वर्ण जितिन्।

त्यसैगरी पुरुषको मिडलवेट ७६ केजी तौल समूहमा मध्यमाञ्चल विकास क्षेत्रका दिवसलाल भूमिलाई टेक्निकल नकआउटका आधारमा पराजित गर्दै आर्मीका दिपेश लामाले स्वर्ण जिते। पुरुषकै हेभीवेट ९१ केजी तौल समूहमा मध्यमाञ्चलका कविरस शर्माले वाकओभर दिएपछि आर्मीका श्याम खड्काले स्वर्ण जिते। दायाँ हात इन्जुरी भएपछि कविरसले खेल त्यागेका थिए। 

महिला मिडलवेट ६९–७५ केजी तौल समूहमा आर्मीकी सिलु डंगोलले मध्यमाञ्चलकी समुना खातुनलाई टेक्निकल नकआउटका आधारमा पराजित गरिन्।

पुरुष सुपरवेट ९१ केजीभन्दा माथिको तौल समूहमा आर्मीका आशिष दवाडीले मध्यमाञ्चलका मेघ डेनियल लामालाई टेक्निकल नकआउटका आधारमा पराजित गर्दै स्वर्ण जिते। 

बिहीबार ३ स्वर्ण जितेको सशस्त्र प्रहरीको एपीएफ क्लब कुल ४ स्वर्णसहित दोस्रो भएको छ। महिलाको वेल्टरवेट ६४–६९ केजी तौल समूहमा एपीएफकी संगीता सुनुवारले नेपाल पुलिसकी अनुराधा लामालाई अंकका आधारमा पराजित गरिन्।

बुधबार एक स्वर्ण जितेको मध्यमाञ्चल विकास क्षेत्रले बिहीबार पनि एक स्वर्ण थप्यो। पुरुषको लाइट हेभीवेट ८१ केजी तौल समूहमा मध्यमाञ्चलका मनोहर बस्नेतले आर्मीका महेन्द्र केसीलाई युरोनोमसका आधारमा पराजित गरे। 

पदक विजेता खेलाडीलाई युवा तथा खेलकुदमन्त्रि दलजित विके श्रीपाली,मन्त्रालयका सचिव महेश दाहाल, सहसचिव चुडामणि पौडेल, संघका अध्यक्ष राम अवाले, वरिष्ठ उपाध्यक्ष अर्जुन केसी र उपाध्यक्ष एवम् ओलम्पियन नरेन्द्र पुमा लगायतले पुरस्कृत गरे।

पुर्व बक्सर सम्मानित
सातौँ राष्ट्रिय खेलकुदअन्तर्गत बक्सिङ समापनको अवसरमा नेपालका पुर्व राष्ट्रिय बक्सरलाई सम्मान गरिएको छ। नेपालमा बक्सिङको विकास र विस्तारमा लामो समय खर्चिएका १६ पुर्व बक्सरलाइ नेपाल बक्सिङ संघले सम्मान गरेको हो। 

सम्मानित हुने बक्सरमा मथुरादास नेवा, सुरेसशिंह आलेमगर, नैन कुमार थापामगर, मञ्जु जंग थापा, प्रविन तुलाधर, डम्बर दत्त भटृ, विष्णु बहादुर पुन, नरेन्द्र पुमा, अनुप लामा, प्रचण्ड शर्मा, विद्या मरासैनी, दिपक महर्जन, प्रकास थापा मगर, रामचन्द्र थापा मगर, डम्बर बहादुर लिम्बु र दिपक राइ छन्। 

उनिहरुलाई युवा तथा खेलकुद मन्त्रालयका सहसचिव चुडामणि पौडेल र बक्सिङ संघका अध्यक्ष राम अवाले लगायतले सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell