PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

सातौं राष्ट्रिय खेलकुदको समापन आज, दुई चर्चित खेल फुटबल र क्रिकेटको स्वर्ण छिनोफानो हुँदै



पहिलोपोस्ट

सातौं राष्ट्रिय खेलकुदको समापन आज, दुई चर्चित खेल फुटबल र क्रिकेटको स्वर्ण छिनोफानो हुँदै

काठमाडौं : पूर्वाञ्त्रलमा भइरहेको सातौं राष्ट्रिय खेलकुदको अन्तिम दिन आज पुरुष फुटबल र पुरुष क्रिकेटको फाइनल खेलहरु हुँदैछ। गत शुक्रबार सम्माननिय राष्ट्रपतिले विराटनगरको शहीद स्मृती रंगशालाबाट उद्घाटन गरेपछि सुरु भएको बृहत खेलकुद आज धरानमा समापन हुँदैछ।
८ दिनसम्म चलेको यस खेलकुद मेलामा पाँच विकास क्षेत्र र तीन विभागीय टोली आर्मी, पुलिस र एपीएफका खेलाडीहरुले प्रतिस्पर्धा गरे।

अन्तिम दिनको खेल हुनु अघि नै १०८ स्वर्ण जितिसकेको नेपाल आर्मी टीम च्याम्पियन बन्ने पक्का छ। आर्मीलाई पछ्याइरहेको अन्य दुई विभागीय टोली पुलिस र एपीएफ आर्मी भन्दा करिब आधा स्वर्णले पछाडी छ।

नेपालका दुई चर्चित खेल फुटबल र क्रिकेटको पुरुषतर्फको फाइनल खेल आजै हुँदैछ। फुटबल र क्रिकेट दुवैतर्फ पुरुष स्वर्णका लागि दुई विभागीय क्लब एपीएफ र आर्मी भिड्दैछन्। यस्तै क्रिकेटकै कास्य पदकको लागि अर्को विभागीय क्लब नेपाल पुलिसले मध्यमाञ्चलसँग प्रतिस्पर्धा गर्दैछ।

समूह चरणमा आर्मी र एपीएफ तथा पुलिस रमध्यमाञ्चल एकै समूहमा थिए। जहाँ एपीएफले आर्मी हराएको थियो भने पुलिस मध्यमाञ्चलसँग हारेको थियो। त्यसैले हार बेहोरेका यी दुवै टोलीलाई बदला लिने अवसर समेत रहेको छ।

पुरुष फुटबलमा पनि फाइनल पुगेका आर्मी र एपीएफ समूह चरणमा एकै समूहमा परेका थिए, जहाँ दुवैले बराबरी खेल्दै अंक बाँडेका थिए।
फुटबल र क्रिकेट दुवैतर्फको फाइनल रोमाञ्चक हुने अपेक्षा गर्न सकिन्छ।

यस्तै अन्तिम दिन स्वर्णको छिनोफानो हुने अर्को खेल हो ह्याण्डबल। ह्याण्डबल अन्तर्गत पुरुष र महिला दुवैतर्फ नेपाल आर्मी र एपीएफ नै फाइनल पुगेका छन्।

त्यसैले यी चार स्पर्धामा आर्मी र एपीएफ जसले जित्यो उसैले स्वर्ण संख्या थप्नेछन्। यस्तै पदकको गणन नहुने भनिएको स्क्वासतर्फ पुरुष र महिला एकलको फाइनल खेल पनि आजै हुँदैछ।

बृहत राष्ट्रिय खेलकुदको सातौं संस्करणमा यसपटक ३० खेल समावेश गरिएको थियो। जसमा एक हजार भन्दा बढी पदकका लागि करिब ४ हजार खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell