
दोस्रो टेष्टमा पाकिस्तानलाई इनिङ्स र १८ रनले पराजित गर्दै अष्ट्रेलियाले तीन खेलको सिरिज २-० ले आफ्नो पक्षमा पारेको छ।
मेलवर्नमा घरेलु टोलीले पहिलो इनिङमा ६२४ रन नबाउँदै डिक्लेयर गरेपछि दोस्रो इनिङ थालेको पाकिस्तान १६३ रनमै अलआउट भएपछि अष्ट्रेलिया जित हात पार्न सफल भएको हो।
पाँचौ तथा अन्तिम दिनको खेल अष्ट्रेलियाले ४६५/६ बाट सुरु गरेको थियो। कप्तान स्टिभ स्मिथले सय र मिचेल स्टार्क ७ रनबाट खेल अगाडि बढाएका थिए। स्मिथ १६५ रनमा नटआउट रहे। उनलाई गतिलो साथ दिएका स्टार्कले आक्रामक ब्याटिङ गर्दै ९० बलमा ३ चौका र ७ छक्का मद्वतमा ८४ रनको योगदान गरे।
जवाफमा पाकिस्तानले सबै विकेट गुमाएर १६३ रन मात्र बनाउन सक्यो। पाकिस्तानका सफ्रराज अहेमद र अजर अलीलले समान ४३ रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। पाकिस्तानलाई अलआउट गर्न मिचेक स्टार्कले सर्बाधिक ४ विकेट लिए भने नाथन लियोनले ३ तथा जोस हाजेलउडले २ विकेट लिए।
दोस्रो टेष्टमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले अजर अलीको दोहोरो शतकको मद्वतमा पहिलो इनिङमा ४ सय ४३ रन बनाएको थियो।
यसअघि ब्रिसवनमा भएको पहिलो टेष्ट अष्ट्रेलियाले ३९ रनले जितेको थियो। तेस्रो टेष्ट सिड्नीमा ३ जनवरीमा सुरु हुनेछ।