
काठमाडौं: यो हप्ता फ्राइडे रिलिज अन्तर्गत तीन नेपाली फिल्म एक साथ प्रदर्शनमा आएका छन्। फिल्म समर्पण, युटर्न र चक्र आजबाट सार्वजनिक भएका हुन्।
बसन्त निरौला निर्देशित फिल्म 'समर्पण'मा रन्जु शर्मा, रुबी शर्मा र प्रयास तामाङको मुख्य अभिनय रहेको छ। फिल्मलाई नेपाल साथै बाङ्गलादेशको विभिन्न स्थानमा छायंकन गरिएको छ। प्रेम कथामा आधारित फिल्मले सिंगल स्क्रीनमा मात्र ठाउँ पाएको हो।
'युटर्न' भने विदेशिएका युवाहरुको कथा समेटेको फिल्म हो। नेपाल अघि बेलायतमा विशेष शो गरिए पनि फिल्मले मल्टिप्लेकसमा ठाउँ पाएको छैन। प्रेम लामा निर्देशित फिल्ममा निता पुन, इतिसा नेम्वाङ राई, प्रेम लामा, दीपक गुरुङ लगायतको अभिनय रहेको छ।
एक्शन फिल्म 'चक्र' पनि यसै साताबाट प्रदर्शनमा आएको छ। पिजी सर्टिफिकेट प्राप्त फिल्मले पनि सिंगल स्क्रिनमा मात्र शो प्राप्त गरेको छ। फिल्ममा रोहन श्रेष्ठ, संजय महर्जन, सिर्जना थापा तथा सुजु मगरको अभिनय रहेको छ। दीप फिल्म प्रोडक्सनको प्रस्तुती चक्रलाई रन्जिन राना मगरले निर्देशन गरेका हुन्।
बलिउड तर्फ भने यो हप्ता कुनै पनि फिल्म नेपालका लागि प्रदर्शनमा आएको छैन। गता हप्ता सार्वजनिक फिल्म दंगलले मल्टिप्लेक्स एवं सिंगल स्क्रिनमा ठाउँ ओगटेको छ।
हलिउडबाट फिल्म 'एसासिन क्रिड' मल्टिप्लेकसमा प्रदर्शनमा आएको छ। जस्टिन कर्जेलको निर्देशनमा बनेको एक्शन थ्रीलरमा माइकल फासबेन्डर, मारियन कर्डिलार्ड, जर्मी आईरान्सको लिड रोल छ।