PahiloPost

Nov 3, 2025 | १८ कात्तिक २०८२

कान्तिपुर गाथा : डस्टमाण्डुमा हेडलाइन खोज्दै कनिका



किशोर नेपाल

कान्तिपुर गाथा : डस्टमाण्डुमा हेडलाइन खोज्दै कनिका

मानिसको जातै यस्तो कि आफैँलाई नपरेसम्म, आफैँले नभोगेसम्म कुनै पनि विषयको चेत खुल्दैन। शासन, प्रशासन, उद्योग, व्यापार, व्यवसाय सबै विषयमा उही हो।
 
अहिले यही कान्तिपुरका सडकमा उडेको धुलोलाई हेरौं।
 
केही दिनअघिसम्म यति साह्रो धुलो थिएन। जब चौथाइ दशकको कोमाबाट मेलम्ची योजना अचानक बिउँझियो, त्यसपछि नै कान्तिपुर शहरमा धुलोको महामारी शुरु भइहाल्यो। धुलोका यी करोडौँ होइन, खर्बौँ कणहरुले कति काठमाडौंवासीको घाँटी बर्बाद गरिसके, कतिको नाकको प्वाल टालिदिइसके, कतिको फोक्सो खराब तुल्याइसके। तैपनि, धुलोको यो प्रचण्ड समस्यामा अरुको त के कुरा, स्वयं प्रधानमन्त्री प्रचण्डको पनि ध्यान गएन। प्रधानमन्त्री प्रचण्डको ध्यान गएर पनि उनले के गर्नु? आखिर यो समस्या तुरुन्तै समाधान हुने पनि होइन। एक त प्रमुख प्रतिपक्ष आक्रामक छ, धुलोको कुराले उसलाई फेरि तताउला। कान्तिपुर शहर र यसका सडक–गल्लीलाई मेलम्चीको पानीले पखाल्ने जोशमा शहरभित्रका सबै सडक पाइप गाड्नका लागि खनिएका छन्। यस्तोमा प्रधानमन्त्रीले कामलाई निरुत्साहित गर्न पनि मिलेन। प्रधानमन्त्रीको काम जनताको उत्साह बढाउने हो। यत्रो उत्साहका साथ विकासका काम भइरहेको शहरमा दायाँबायाँ कुरा निकाल्न पनि भएन। प्रतिपक्षका 'भिजिलान्ते' जताततै छन्।
 
शहरका सबै सडक र पेटीहरु एकसाथ खनिएकोले धुलो पनि एकमुष्ट उडेको छ। घरबाहिर निस्कने हो भने शहरवासीसँग बाइक भए पनि नभए पनि हेलमेट हुनैपर्दछ। मुखमा पट्टी टाँसिएकै हुनुपर्दछ। आँखाका चश्मा त भन्नुपर्ने कुरै होइन।
 
धुलोको मारमा परेकी छ सधैँ चिटिक्क भएर हिँड्ने कनिका।
 
ऊ रन्थनिएकी छ, ‘ओह, सिट… यस्तो पनि हुन्छ ?’ तर, ऊ छिट्टै सम्हालिन्छे र सम्झिन्छे– अस्तिमात्र ग्वार्कोको एक्सिडेण्टमा उसको कजन सिष्टरको झण्डै ज्यान गएको। यो धुलो त सामान्य भो। महांकालतिर त कति बाइक खाल्डामा झरिसकेका छन्।
 
कनिका सोच्दै थिई- यो धुलोको प्रकोपलाई मुख्य समाचार बनाउन मिल्छ कि मिल्दैन? नमिल्ने त कुरै भएन। बिहानमात्रै कनिकाले मेनलाइनको एक दैनिकमा पढेकी थिई– डस्टमाण्डु। हो त। पत्रकारको कल्पनाशीलताले उसलाई प्रभावित गरेको थियो। उसको दिमागमा किन आउँदैनन् यस्ता कुराहरु? लौ बीस, पच्चीस जतिसुकै वर्षपछि आए पनि मेलम्चीको पानी काठमाडौँ ल्याउने परिस्थिति बन्नु धेरै राम्रो कुरा हो। तर, त्यो राम्रो कामलाई ढंग पुर्‍याएर गर्ने राम्रो बनीको विकासचाहिँ कहिले हुने? उसको चिन्तन प्रक्रियामा त्यति बेला अवरोध उत्पन्न भयो जति बेला पुरु उसको अगाडि आएर उभियो। उसका कपडाहरु धुलाम्मे थिए भने नाकको डाँडीमा धुलो जमेर अनुहार नै विरुप भएको थियो। उसले पुरुप्रति सहानुभूति व्यक्त गरी र साहित्यिक भाषामा भनी, ‘यस्तै हो साथी, जीवनमा पर्ने दु:खको यो एउटा सानो उदाहरण मात्र हो। अहिले नै नभए पनि मेलम्चीको पानी आएपछि तिम्रो यो रुपमा परिवर्तन आउँछ।’
 
पुरु भन्दै थियो, ‘ह्या, तिमी पनि। म तिमीलाई आफ्नो हुलिया देखाउन आएको होइन। तिमी आमीरको दंगल हेर्न जाने हो सिभिलमा?’
 
‘कति बजे?’ कनिकाले सोधी।
 
‘चार बजेको शो हो।, पुरुले जवाफ दियो।
 
‘त्यसो भए नो,’ कनिकाले जवाफ दिई, ‘हेर, आज दुई वटा रिपोर्ट फाइल गर्नुछ। त्यसपछि मेरो आफ्नै आमीरको कल आउँदै छ दुबईबाट। अब यो तिम्रो आमीरको दंगल हेर्न कता जानु? अरु कोई फेला परेनन् कि के?’
 
पुरुको मुख रातो भयो। कनिकाले उसलाई कडै दिएकी हो। केटीहरुको मामिलामा पुरु लोभी थियो। त्यसपछि ऊ आफनो बाइकमा हिँड्यो।
 
कनिकाले सम्झिई, अनिकेतको निम्तो। ऊ आज अनिकेतको निम्तोमा जानेवाली थिइन। चार्लीसँग कुरा गर्नु थियो। चार्लीले साँझ फोन गर्नु भनेको थियो।
 
कनिका अफिस पुगी र लेख्न थाली। लेख्दा ऊ एकाग्र हुन्थी। कसैले डिस्टर्ब गरेको मन पराउन्न थिई। उसले चार्लीको बाहेक अरु जम्मै फोन होल्डमा राखिदिएकी थिई।
 
ऊ लेख्दै थिई, शहर लडखडाउँदै छ। मानिसहरु पानीको पाइप बिछ्याउने खाल्डोमा खस्दै छन्। उता सुरुङ जोडिएको छ। तैपनि, पानी आउने नआउने ठेगान छैन। केही कच्चा चट्टानहरुसँग भिड्दै छन् प्राविधिकहरु। ती चट्टान फुटिरहे पनि घाटा छ, न फुटे पनि घाटा छ।
 
पानी-पानी-पानी… उसले कलम बन्द गरी। त्यसपछि सुदिप्तीको केविनमा पसी। त्यति नै बेला फोनको घण्टी बज्यो। लाइनमा चार्ली थियो...

(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा)

यो सिरिजका थप गाथा
काठमाडौंबाट आएका केटी पत्रकार भनेपछि स्टाइलबाटै चिनिन्छ 
छोटो स्कर्ट लाए पनि समस्या, क्लिभेज र कर्भ देखिए पनि समस्या ​
संसदमा कनिकालाई सांसदको सेक्सिस्ट रिमार्क
यसअघिका २९ गाथाको संग्रह एकै ठाउँमा, डाउनलोड गर्नुस् इबुक

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell