PahiloPost

Dec 29, 2025 | १४ पुष २०८२

सुदूरपश्चिममा भुवा पर्वको रौनक, माघे संक्रान्तिका लागि आजैदेखि सुरु भयो तयारी



पहिलोपोस्ट

सुदूरपश्चिममा भुवा पर्वको रौनक, माघे संक्रान्तिका लागि आजैदेखि सुरु भयो तयारी

कैलाली :  सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रुपमा मनाउँदै आएको भुवा पर्व विधिवत् रुपमा सुरु भएको छ।
 
पञ्चेबाजाका साथमा खेलिने यो पर्व सुदूरपश्चिमका बाजुरा, बझाङ, अछाम, डोटी र मध्यपश्चिमका विभिन्न जिल्लामा मनाउने चलन रहेको छ।
 
पौराणिककालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनाका रुपमा मनाउँदै आएको यो पर्व बिहीबार अर्थात् पौस औँसीदेखि सुरु भएको हो। दसैँपछिको दोस्रो ठूलो चाडका रुपमा मनाइने यो पर्वमा पुरुषहरु हातमा तरबार र खुकुरी प्रदर्शन गरी मनाउने परम्परा छ। यस पर्वको सुरुको दिन राँके जुलुस निकालेर रातभर मादलका तालमा गीत गाउने गरिन्छ।
 
पुस १५ गते सबैभन्दा लामो रात हुने विश्वासमा उक्त रातमा सबै जना बसेर कथा भन्ने, चामलको पिठोको मोटो रोटी बनाएर खाने परम्परा रहिआएको छ। पहिलेजसरी रातभर मानिसहरु नबसे पनि चामलको पिठोको मोटो रोटी बनाएर खाने परम्परा पश्चिमेलीहरुले छोड्न नसकेको घोडाघोडी बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मीप्रसाद भट्टराईले बताए। चामलको पिठोलाई दूधमा मिचेर चिनी सहितको मिठो रोटी पकाउन दिउँसैबाट तयारीमा लागेको उनले जानकारी दिए।
 
आजको दिनमा कतै नाटक प्रस्तुत गर्छन् भने कतै सबै जना मिलेर बाजा बजाएर नाच गान पनि गर्ने गरेका छन्।

पहाडी जिल्लाहरुमा आजैबाट माघ १ गतेको लागि मुडा खोज्न सुरु गरिन्छ। वनभोज खाने र फर्कँदा काठको मुडा बोकेर फर्किने परम्परा रहेको छ। १५ दिनसम्म बोकेको मुडालाई खात बनाएर माघ १ गते बालिन्छ र माघे संक्रान्ति मनाइन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell