PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

​साफ महिला च्याम्पियनसिप : श्रीलंकालाई हराउँदै नेपाल समूह विजेता



पहिलोपोस्ट

​साफ महिला च्याम्पियनसिप : श्रीलंकालाई हराउँदै नेपाल समूह विजेता

काठमाडौं : नेपाल समूह ए को विजेता बन्दै चौथो साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। भारतको शिलगुरीस्थित कञ्चलजंगा स्टेडियममा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई १-० ले हराउँदै नेपाल समूह विजेता बनेको हो।

नेपाललाई तेस्रो जित दिलाउन वैकल्पिक खेलाडी सपना लामाले खेल सकिन ३ मिनेटअघि प्रहार गरेको कर्नर श्रीलंकन खेलाडीले रोक्न खोज्दा गोल भएको हो। सपना दोस्रो हाफमा अनिता बस्नेतको स्थानमा मैदान प्रवेश गरेकी थिइन्।

समूह चरणमा तीन खेल जितेको नेपाल ९ अंक जोड्यो। नेपालले पहिलो खेलमा भुटानलाई ८-० तथा दोस्रो खेलमा माल्दिभ्सलाई ९-० ले पराजित गरेको थियो। दुवै खेलमा नेपाली फरवार्ड सावित्रा भण्डारीले ह्याट्रिक गरेकी थिइन्।

समूह ए को उपविजेताको टुंगो आजै हुने माल्दिभ्स र भुटानबीचको खेलपछि लाग्नेछ। माल्दिभ्सले पहिलो खेलमा श्रीलंकालाई हराउँदै ३ अंक जोडेको थियो। यता ३ खेल खेलिसकेको श्रीलंकाले एक जित र दुई हारपछि ३ अंक मात्र जोडेको छ। यदी माल्दिभ्सले भुटानलाई हराएको खण्डमा माल्दिभ्स समूह उपविजेता बन्नेछ।

यता समूह बी बाट भारत र बंगलादेश सेमिफाइनलमा प्रवेश गरिसकेको छ। अब यी दुईबीच शनिबार हुने अन्तिम खेलबाट समूह बी को विजेता र उपविजेताको छिनोफानो हुनेछ। ३ टीम मात्र रहेको समूह बी मा दुवै खेल हारेको अफगानिस्तान भने समूह चरणबाटै बाहिरिसकेको छ।

नेपालले भारत र बंगलादेशबीच पराजित हुने टीमसँग सेमिफाइनल खेल्नेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell