
काठमाडौं : शुक्रबार दिउँसो नयाँ बानेश्वरमा सरकारी गाडीमाथि भएको आगजनी आफूहरुसँग सम्बन्धित नरहेको युवा संघले जनाएको छ।
संघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि बाँकेको कोहलपुरमा खुकुरी प्रहारको घटनालाई लिएर विरोधसभा गरिए पनि गाडीमा आगजनी नगरेको संघका प्रवक्ता प्रभातविक्रम कटुवालले बताए। 'विरोधसभामा घुसपैठ गर्नेले बदनाम गर्नका लागि आगजनी गराएका हुन सक्छन्,' उनले भने।
दिउँसोको समयमा बा२झ १३९२ नम्बरको सरकारी गाडीमाथि आगजनी गरिएको थियो भने बा२झ १०५५ नम्बररको अर्को गाडीमा तोडफोड गरिएको थियो। तोडफोडको भने युवा संघले जिम्मेवारी लिएको छ। विरोधसभामा जबर्जस्ती गाडी ल्याएकोमा आक्रोशित कार्यकताले गाडी तोडफोड गरेको प्रवक्ता कटुवालले बताए।