PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

निर्वाचनमा मोर्चा लचिलो : प्रतिपक्ष एमालेको अडान उस्तै



रमेश वाग्ले

निर्वाचनमा मोर्चा लचिलो : प्रतिपक्ष एमालेको अडान उस्तै

काठमाण्डौं : संविधान संशोधन नहुँदासम्म निर्वाचन लगायतका प्रक्रिया अगाडि बढ्न नदिने अडानमा रहेको मधेसी मोर्चा निर्वाचन मिति घोषणाको पक्षमा लचिलो बनेको छ।

संविधान संशोधन नभई अगाडि बढ्ने प्रक्रियामा विपक्षमा बस्ने चेतावनीदिँदै आएको मोर्चाका नेता सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरुसँगको छलफलपछि विधेयक संसदमा पेश भएमा निर्वाचन मिति घोषणा गर्ने पक्षमा लचिलो बनेका हुन्।

कांग्रेसले विधेयक पारित गर्ने दायित्व लिने बताएपछि विधेयक संसदमा पेश गरेर चुनाव घोषणाका लागि मोर्चा सकारात्मक बनेको हो।
मोर्चा र कांग्रेसका नेताविच शुक्रबार सिंहदरवारमा रहेको कांग्रेस संसदिय दलको बैठकमा जारी राजनितीक गतिरोधबारे छलफल भएको थियो।

छलफलमा कांग्रेसले तत्काल निर्वाचन मिति घोषणा नगरे तीनतहका निर्वाचन तोकिएको मितिमा गर्न अप्ठ्यारो हुने सम्‍झाएपछि संशोधन नभई सहमती हुन्न भन्दै आएका मोर्चाका नेता संसदमा पेश भए हुन्छ भन्नेमा आएका हुन्।

बैठकमा कांग्रेसले प्रमुख प्रतिपक्षको संसद्मा अवरोध जारी रहेको भन्दै चुनाव घोषणा गरे प्रतिपक्ष पनि संसद् चलाउन सकारात्मक हुने र विधेयक पारित गर्न वातावरण बन्ने भन्दै मोर्चाका नेतालाई चुनावको मिति घोषणामा सहमत हुन आग्रह गरेका थिए।

'कांग्रेससँगको वार्ता सौहार्दपूर्ण भएको छ,अब संशोधन विधेयकलाई छिट्टै संसद्मा टेबुल गर्ने सहमति भयो' बैठकपछि मोर्चाका नेता फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले भने।

उनले विधेयका विषयमा कांग्रेसभित्र पनि फरक फरक धारणा सुनिएको तर शुक्रबारको छलफलमा विधेयकका विषयमा कांग्रेसको धारणा बुझेपछि विश्वासको वातावरण बनेको बताए।

'हामीले विधेयकका विषयमा कांग्रेसको धारणा के हो भनेर राखेका थियौ उहाँहरुले विधेयक कांग्रेसँग सल्लाह गरेर नै सरकारले दर्ता गरेको र कांग्रेसले विधेयकको स्वामित्व रहेको बताउनुभयो' यादवले भने।

बैठक पछि कांग्रेसका नेताले विधेयक अघि बढाउने विषयमा मोर्चाका नेताको मनमा रहेके शंका निवारण भएपछि मोर्चा चुनावका लागि सकारात्मक भएको बताएका छन्।

'मोर्चालाई संविधान संशोधन विधेयकमा कांग्रेसले स्वामित्व लिन्छ कि लिदैन भन्नेमा शंका रहेछ,' कांग्रेस नेता गोपालमान श्रेष्ठले भने,'तर सभापतिजीले सरकारले कांग्रेससँग सल्लाह लिएर विधेयक दर्ता गरेको र विधेयक पारित गर्ने विषयमा कांग्रेसले नै अगुवाइ गर्ने बताएपछि उहाँहरु सकारात्मक हुनुभयो।'

उनले संसद् बैंठक सुरु हुने दिन अगावै नेकपा एमालेसँग समेत वार्ता हुने र संसद्मा विधेयक पेश गरेर चुनावी प्रक्रिया अघि बढाउने विषयमा सहमतिका लागि पहल गरिने बताए।

'प्रमुख प्रतिपक्षी दल पनि चुनावको विरुद्धमा जान सक्दैन र जानु पनि हुँदैन,' श्रेष्ठले भने, 'त्यसैले दुबैलाई मान्य हुने मध्यमार्गी प्रस्तावका रुपमा कांग्रेसले विधेयक पेश गर्ने र चुनाव घोषणा गर्ने विषयमा सहमति खोजेको हो।'  

एमाले नमाने सम्भव छ पेश गर्न !

संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरोध जारी राखिरहेका बेला सत्तारुढ र मधेसी मोर्चाबीच विधेयक संसद्मा पेश गर्ने सहमति भए पनि अवस्था त्यत्ती सहज देखिन्न।

दुइपक्ष सकेसम्म एमालेलाई सहमत गराउने नभए अवरोधकै विचमा विधेयक पेश गर्न सहमत भएका छन्। एमालेको मुभ र मुड हेर्दा संसदमा सहजै विधेयक पेश हुने वातावरण बन्ने देखिन्न।

एमाले सहमत नभइ जवर्जस्ती पेश गर्ने प्रयास गरे त्यसले भिडन्त निम्त्याउने खतरा उत्तिकै छ।

कांग्रेस नेता श्रेष्ठ प्रतिपक्षको विरोध जारी रहेमा विरोधकै बीच विधेयक पेशगर्ने अभ्यास विगतमा पनि रहेकाले बाधा नहुने दावी गर्छन्।

'प्रतिपक्षको अवरोध सुरु भएको एक महिना भइसक्यो,  हामीसँग संविधानले तोकेको अवधिमा चुनाव गराउनुपर्ने बाध्यता छ त्यो प्रतिपक्षले पनि बुझेको छ,' श्रेष्ठले भने, 'यस्तो अवस्थामा प्रतिपक्षले जिम्मेवार भूमिका खेलेन भने विरोधकैवीचमा पनि विधेयक दर्ता हुन्छ।'

उनले यत्ती भन्दाभन्दै सकेसम्म सहमतिको प्रयास गर्ने बताउन छुटाएनन्।

मोर्चाका नेता यादवले विरोधकाविचमा विधेयक पेश हुने बताए। 'प्रतिपक्षले अवरोध खोल्दैन भने सरकारले विरोधकैविचमा पनि विधेयक दर्ता गर्नुपर्छ,' यादवले भने,'संसद्लाई बन्धक बनाएर प्रक्रियालाई नै अवरुद्ध गर्न एमालेको अभ्यास संसदिय होइन।'

उनले प्रक्रियामा विरोध जनाउने र विधेयक असफल बनाउने अधिकार एमालेलाई भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell