PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

प्रधानमन्त्री र मोर्चाका नेताबीच छलफल, संशोधन प्रस्ताव अघि बढाउँदै चुनावमा जाने समझदारी



पहिलोपोस्ट

प्रधानमन्त्री र मोर्चाका नेताबीच छलफल, संशोधन प्रस्ताव अघि बढाउँदै चुनावमा जाने समझदारी

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मधेसी मोर्चाका नेताहरुबीच आज बिहान बालुवाटारमा छलफल भएको छ।
 
सरकारको तर्फबाट व्यवस्थापिका–संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव अघि बढाउने र मधेशी मोर्चा स्थानीय, प्रादेशिक र संघीय निर्वाचनमा जाने सहमति बैठकले गरेको छ। संसदमा दर्ता संशोधन प्रस्ताव अघि बढाएर निर्वाचन सम्बन्धी कार्यतालिका निश्चित गर्नेमा पनि मोर्चाबीच समझदारी बनेको हो।
 
संविधान संशोधन नभई अगाडि बढ्ने प्रक्रियामा विपक्षमा बस्ने चेतावनी दिँदै आएको मोर्चाका नेताहरु सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरुसँग शुक्रबारको छलफलपछि विधेयक संसदमा पेश भएमा निर्वाचन मिति घोषणा गर्ने पक्षमा लचिलो बनेका हुन्।
 
प्रधानमन्त्रीसँगको आजको बैठकमा मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव लगायतका उपस्थित थिए।

मधेसवादी दलहरुले उठाएको मागलाई सम्बोधन गर्ने विषयमा सहमति कायम गर्न सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले गरेको प्रस्तावलाई प्रमुख प्रतिपक्ष दल नेकपा एमाले लगायतले अस्वीकार गर्दै आएका छन्। एमालेको निरन्तरको अवरोधका कारण एक महिनादेखि व्यवस्थापिका–संसद्को गतिरोध अन्त्य हुन सकेको छैन। आन्दोलनरत मधेसवादी दलको मागलाई सम्बोधन गर्ने क्रममा सरकारले नागरिकता, प्रदेशको सीमाङ्कन, भाषा र राष्ट्रिय सभामा प्रादेशिक प्रतिनिधित्व जस्ता विषयमा संशोधन अघि बढाएको छ। प्रमुख प्रतिपक्षले भने उक्त प्रस्ताव नेपाल र नेपाली जनताको भावनाको विरुद्धमा रहेकोले कुनै पनि हालतमा त्यसमा आफूहरु सहमत हुन नसक्ने अडान राख्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell